आर्थिक विकासमा युवा अपेक्षा

मन भण्डारी

सोमवार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । त्यसक्रममा नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरिए । बाँकेको नेपालगन्ज र कोहलपुरमा युवा सम्वन्धी विभिन्न कार्यक्रम गरिए । नेपालगन्जमा जिल्ला युवा क्लव सञ्जाल बाँकेले शैक्षिक रुपान्तरण तथा उद्यमशीलता बिषयक अन्तरक्रिया ग¥यो । युवा उद्यमी सम्मान पनि गरिएको कार्यक्रममा बक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिए ।

सञ्जाल अध्यक्ष आशिष बर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पुगेका थिए । मन्त्री राईले युवाहरुलाई रोजगारतर्फ केन्द्रीत गरेर बेरोजगारी समस्या हल गर्ने सरकारको योजना सुनाए ।

कोहलपुरमा पनि दिवसको अवसरमा प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गरिएको छ । बिहान कोहलपुर बजारमा गरिएको प्रभातफेरीमा नगरको बिभिन्न भागको परिक्रमा गरियो । कार्यक्रममा पर्यटन व्यवसायी युवा देवानन्द अर्याल सहित ३ जनालाई सम्मान गरिएको थियो । आर्थिक क्षेत्रमा विकासको उल्लेखनीय योगदान दिएका अर्याललाई उदाहरणीय युवाका रुपमा सम्मान गरिएको हो ।
यसै सन्दर्भमा दैनिक नेपालगन्जले बाँकेका अगुवा यवाहरुलाई सोध्यो, युवाका लागि स्थानीय सरकारले के गर्नुपर्ला ? विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु रोजगारी र आर्थिक क्षेत्रमा आफ्नो सहभागिता चाहन्छ । बैदेशिक रोजगारी होइन, स्वदेशमैं रोजगारी आजको आवश्यकता हो । युवा अगुवाहरुको विचारलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

अनुदानको वातावरण –करिष्मा योगी (युवा व्यवसायी)
आजको यो जल्दोबल्दो परिस्थितिमा सबैभन्दा सोंचनिय विषय भनेको युवा शक्ति बनेको छ । युवा भविष्यका कर्णदार हुन्, देशका खम्बा हुन भन्दै आइरहेको धेरै सुनियो । तर हाम्रो देशका युवा बिदेशी मुलुक बनाउन गिट्टी र मोरङको भुमिका निर्वाह गरिरहेका छन् । भने कतिपय युवाहरू नेपालमा तातो गास त खान सकेनन् तर नेपाली माटोमा वास खोजी काठको बाकसमा भित्रिने गरेका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकार सबैले युवाको सवाललाई आत्म साथ गरी योजना निर्माणमा ध्यान जान जरुरी छ । त्यसमा पनि महत्वपूर्ण भुमिका त स्थानीय सरकारको छ । किनभने स्थानीय सरकारले युवालाई नजिकबाट चिनेको हुन्छ । युवाहरुका लागि अबको आवश्यक्ता भनेको गोष्ठी, सेमिनार नभई आत्मनिर्भर हो । त्यसको लागि युवाहरुका लागि रोजगारको सिर्जना गर्ने कार्यमा स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ । बेरोजगार हुनु नै देश विकासको सबै भन्दा ठुलो चुनौती भएको छ । युवाहरुको लागि स्थानीय सरकारले एउटा प्रयोगात्मक पाठशालाको स्थापना गर्न जरुरी छ । जस्तै, कुनै युवा कृषि ब्यबसाय गर्न चाहन्छ भने सजिलै अनुदान मिल्न सक्ने बाताबरण सिर्जना सरकारले गर्नुपर्छ । योग्यता अनुसारको कामको ब्यवस्थापन गर्नतर्फ स्थानीय सरकारको ध्यान दिनुपर्छ र काम गरिरहेका युवाहरूको हौसला बढाउन र अरु युवालाई आकर्षण गराउनको लागि पुरुस्कार र सम्मानको ब्यबस्था गर्नु कन्जुस्याइ गर्नु हँुदैन । स्थानीय सरकारले हरेक क्षेत्रमा युवा सहभागितामा जोड दिनुपर्छ । युवाहरुलाई भविष्यका कर्णदार भन्ने मात्र नभइ उनिहरुलाई जिम्मेवार पनि बनाउनु पर्छ । स्थानीय तहमा भएका बेरोजगार युवाहरुको तथ्याँक संकलन गरि तिनीहरु को रुचि र क्षमताको आधारमा युवाहरूलाई सुरक्षित गरेर रोजगारको अवसर दिने र नीति निर्माणमा समेत युवाहरुको सहभागिता गराएर युवामुखी कार्यक्रम तथा योजना तर्जुमा गरि युवालाई पलायन हुनबाट रोक्नतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

प्राविधिक तथा सीपमूलक शिक्षा –आशिष बर्मा ,अध्यक्ष
(जिल्ला युवा क्लब संजाल, बाँके)

नेपालमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तनमाको कारण हाल नेपाल एकात्मक शासन व्यवस्था संघीय शासन व्यवस्थामा रुपान्तरण भएको छ । नयाँ संरचना अनुसार हाल नेपालमा १ संघीय सरकार, ७ प्रदेशिक सरकार र ७५३ स्थानीय सरकार रहेको छ जसको कारण हाल नेपालको हरेक क्षेत्रको विकासको सम्भावना रहेको देखिन्छ । सबै वर्ग र क्षेत्रको विकासको लागि स्थानीय सरकारले आवश्यकताको आधारमा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनको अवस्था रहेको छ ।

नेपालको कुल जनसंख्याको ४०.३ प्रतिशत युवाको जनसंख्या रहेको देश नेपालमा युवा जनशक्तिको उचित व्यवस्थापना र लगानी गर्न सकेको अवस्थामा देशको समृद्धि र विकासको सभावना बढिरहेको देखिन्छ । युवा जनशक्तिको क्षमता अभिबृद्धि गरी राष्ट्रको आर्थिक तथा सामजिक विकास गर्न सकिन्छ तर हाम्रो देशमा युवा तथा खेलकुद मन्त्रालय छ जुन आफैमा राम्रो कुरा हो तर देशको बजेट विनियोजनको अवस्था हेर्दा युवा तथा खेलकुदको क्षेत्रमा एकदम न्युन रहेको छ । जसको कारण पर्याप्त मात्रामा युवाहरुको विकासको लागि काम हुन नसकिरहेको देखिन्छ ।

यस्तो अवस्थामा पनि हाल स्थानीय सरकारले युवाको विकासका लागि धेरै कार्यक्रमहरु संचालन गर्न सकिने अवसरहरु सिर्जना भएका छन् ।
सबैभन्दा पहिला स्थानीय सरकारले युवाहरुको सन्दर्भमा कार्यक्रम संचालन गर्नका लागि स्थानीय तहको युवा निती निर्माण गर्नु पर्ने देखिन्छ, जसको निर्माण पछि युवाहरुको क्षेत्रमा लगानी तथा कार्यक्रम संचालन गर्न वातावरण सिर्जना हुन्छ । स्थानीय स्तरमा युवाहरुको अवस्था बिश्लेषण गरी आवश्यक्ताको आधारमा योजना तर्जुमा गरी कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने देखिन्छ । स्थानीय स्तरमा युवा उद्यमशीलता प्रवद्र्र्धनका लागि प्राविधिक शिक्षा तथा सीपमूलक शिक्षा प्रदान गर्नका लागि पहल गर्नु पर्ने देखिन्छ ।

सीप प्राप्त गरेका युवाहरुको विवरण संकलन गरी विभिन्न निजी क्षेत्रहरुसँग समन्वय गरी व्यवसाय संचालनका लागि पहल गर्न सके युवा बिदेशिने समस्या कम हुनुको साथै युवा जनशक्तिको परिचालन गर्न सकिन्छ । स्थानीय सरकारले वडा तहमा युवा क्लबहरुको गठन गरी सामजिक विकासको मुद्दाहरुमा संकलन गराउन सकिनेछ जसको कारण समुदायमा रहेको लागु औषध, हिंसा, बाल विवाह तथा अन्य सामाजिक मुद्दाहरुमा पनि काम गर्न सकिनेछ ।
मुख्य गरी युवाको जनशक्तिको उचित परिचालनको लागि स्थानीय स्तरमा युवाहरुको लागि स्थानीय स्तरमा उपलब्ध हुने श्रोत साधनको उच्चतम परिचालन गर्न सकिने सीपमूलक तालिमहरु संचालन गर्नु पर्ने देखिन्छ । स्थानीय स्तरमा युवाहरुले संचालन गरिरहेका सामजिक विकासका कामहरुले स्थानीय सरकारले संस्थागत गर्नु पर्ने देखिन्छ जसको कारण विकास र समृद्धि हुन सक्छ ।

क्षमता अनुसारको रोजगारी – निर्मला सुनार ,अध्यक्ष (दलित महिला (फेडो ) संघ, बाँके)

परिवर्तनका संवाहक र यो देशका कर्णधार युवा हरेक क्षेत्रबाट समावेसी सहभागीताका सवाल उठिरहेको अबस्थामा स्थानीय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागिता हुन आबश्यक छ । नयाँ सोच विचार र जोस जागर भएका परिवर्तनका संवाहक युवाहरूलाई मुख्य अंगको रुपमा स्थानीय सरकारले लिनु पर्दछ । समृद्ध नेपाल खुशी र सुखि नेपाली हुनका लागि समग्र देशको विकास निर्माण कार्यहरु गर्नका लागि रणनीतिक योजनाहरुमा युवाहरुलाई जिम्मेवार बनाउनु पर्दछ । स्थानीय सरकारका हरेक गतिविधिहरुमा युवाहरुलाई साझेदारीका सहयात्री बनाएर काम गर्न आवश्यक छ । बनेका ऐन कानुन नीति नियमको कार्यन्वयन गर्न गराउन युवाहरुको मुख्य भुमिका रहन्छ । सकिनसकी पढाइलाई निरन्तरता दिएर केहि गर्छु भन्ने जोस जागर बोकेका युवाहरू बेरोजगार हन बाध्य भइ विदेशिन र अकालमा ज्यान गुमाउनुको पीडा स्थानीय सरकारले बुझ्न आवश्यक छ । योग्यता र क्षमता अनुसारको रोजगारको काम र स्वरोजगार बनाउने खालका कार्यक्रमहरु संचालन गरि युवाहरुलाइ प्रत्यक्ष लाभ हुने कार्यक्रम गर्न स्थानीय सरकारले विशेष ध्यान दिनु पर्छ ।

युवा क्षेत्रमा लगानी – पुर्ण आचार्य ,अध्यक्ष (नेविसंघ, बाँके)
सबै भन्दा पहिले स्थानीय सरकारले आफ्नो कार्यक्षेत्रमा रहेका युवाहरुको तथ्यांक संकलन गरि युवाहरुको रुची र कार्यक्षेत्रको पहिचान गर्नुपर्ने हुन्छ । युवाहरुको आवश्यक्ता, रुची र क्षमताको आधारमा युवाको क्षेत्रमा लगानी गर्ने स्थानीय सरकारको कार्ययोजना बन्नुपर्छ । युवाहरुमा सामुहिक भावना जाकृत हुने किसिमका कार्यक्रमहरुको सिर्जना गरिनुपर्छ । स्थानीय सरकारले युवाको लागि निती बनाउनु पर्छ र युवाहरुको जिवन निर्वाहका लागि अवसरको सिर्जना गरि सबालम्बि युवा तयार गर्न तर्फ स्थानीय सरकारको ध्यान जानुपर्छ ।

उत्पादनमुखी काममा प्रेरित –गगन थापा
(नेपालगन्ज साइक्लिङ्ग क्लब)
युवाहरुलाइ स्थानीय सरकारले रोजगारको सिर्जना गर्नुपर्छ, खाली समयमा गलत कृयाकलापमा लाग्न नदिनका लागि खेलकुदमा आकर्षित गराउने कार्यक्रम संचालन गर्नु पर्दछ । बेला बेलामा युवाहरुला काउन्सेलिङ्ग पनि दिनु पर्ने हुन्छ । युवाको सशक्तिकरणको लागि उत्पादनमुखी काममा लाग्न प्रेरित गर्नु पर्दछ । साथै उनीहरुको बिचार, भावना र आवश्यकताको सम्मान गर्न सरकारले गर्ने हरेक कार्यक्रम तथा क्रियाकलापमा युवाको अनिवार्य सहभागिता गराउनु पर्छ र युवाहरुलाई ब्यस्त हुने खालको कार्यक्रम बनाउनु पर्छ ।

स्वदेशी रोजगारीमा आत्मनिर्भर- साहिल अन्सारी , (बाल अधिकारकर्मी)
युवा हरुको सशक्तिकरण गर्नको लागि स्थानीय सरकारले राष्ट्रिय युवा परिषदले तयार पारेको राष्ट्रिय युवा नीति २०७२ र युथ भिजनको मुलमर्मलाई आत्मसाथ गर्दै कार्ययोजना बनाउन जरुरी छ । स्थानीय स्तरमा रहेको युवा प्रतिभालाई प्रोत्साहन का साथै उद्दमी युवाहरुलाई राज्य पक्ष र स्थानीय सरकार ले बिशेष लगानी र संरक्षणको आवश्यकता देखिन्छ । युवाहरु वैदेशिक रोजगार भन्दा स्वदेशी रोजगारीमा आत्मनिर्भर का साथमा युवाहरुको शैक्षिक रुपान्तरण गर्न आजको प्रमुख आवश्यकता हो । यसका साथ साथै युवाहरुको सामाजिक रुपान्तरणका निम्ति युवाहरुलाई सकारात्मक दिशामा निर्देश गर्न निकै जरुरी छ । जसका लागि स्थानीय सरकारले अगुवाई गर्न निकै जरुरी छ । युवाहहको नेतृत्व बिकासका लागि समेत स्थानीय सरकारको ध्यान जानु पर्दछ ।

अनुदान वा निरब्याजी ऋण-मोहित शाह, अध्यक्ष (अनेरास्ववियु, बाँके)
स्थानीय सरकारले सबैभन्दा पहिला आफ्नो स्थानीय तह मा युवाहरूको तथ्यांक संकलन गरेर कति प्रतिशत शिक्षित, दक्ष, सिपमुलक कति प्रतिशत अशिक्षित, अदक्ष र सिपमुलक युवाहरू कति प्रतिशत छन् । र, कतिले रोजगार गरिराखेका छन् कति बेरोजगार छन् कतिले आआफ्नो स्वरोजगार व्यापार व्यवसाय गरेका छन् वा छैनन् यी सम्पूर्ण तथ्यांक संकलन गर्नुपर्ने देखिन्छ । उद्योग,व्यापार, व्यवसाय संचालन गरेका युवाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा ऋण उपलब्ध गराउने र देश को उत्पादन स्तरलाई बढाउने उद्देश्यले कृषि र पशुपालन मा बढी प्रोत्साहन गर्नुपर्छ ।

शिक्षित र सिप भएका तर गरिबी या कुनैपनि कारणले बेरोजगार भएका युवाहरूलाई निरब्याजी रूपमा ऋण उपलब्ध गराएर एकल वा सामुहिक रुपमा कृषि पशुपालन वा अन्य व्यापार व्यवसाय मा स्थापित गर्ने । आफ्नो स्थानीय तहमा रहेका अशिक्षित,अदक्ष वा कुनैपनि कारणले पिछडिएका युवाहरूलाई योग्यतालाई निरीक्षण गरेर सीपमुलक र प्रविधिमुलक तालिम दिएर अनुदान वा निरब्याजी ऋण उपलब्ध गराएर एकल वा सामुहिक रूपमा कृषि पशुपालन वा व्यापार व्यवसायमा स्थापित गराउन स्थानीय सरकाले ध्यान दिनुपर्छ । यस्ले धेरै हदसम्म हामी सम्पूर्ण युवाहरूको साझा समस्या बेरोजगारीलाई समाधान गर्न सहयोग गर्छ र देशको अर्थतन्त्रलाई बलियो बनाउँछ ।

प्रतिक्रिया

प्रतिक्रिया