नेपालगन्जको महानगर यात्रामा खजुरा

महानगरको यात्रामा हामीले धेरै सम्भावनाको खोजी गरिरहेका छौं । सकारात्मक सोंचको विकास गर्न विचार प्रवाह गरिरहेका छौं । निराशा हैन, आशा र सम्भावना देखाइरहेका छौं । नेपालकै पुरानोमध्येको यो शहर यतिबेला महानगरोन्मुख दिशामा छ । गर्मीलाई यहाँको सभ्यता, रहनसहन, खानपान र संस्कृति लगायत तमाम चिजले ओझेल पारिदिएको छ । महानगर बन्न आवश्यक पुर्वाधारहरु खडा गर्दै अघि बढेको नेपालगन्ज कुनैबेला मध्य र सुदुरपश्चिमका २४ जिल्लाको केन्द्र हो ।

टीएस ठकुरी
नेपालकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिएको नेपालगन्ज संघीय राजधानी काठमाडौंदेखि २२७ माइल टाढा छ, जहाँ विविध धर्मावलम्बी, जातजाति र सम्प्रदायको बसोबास छ ।
नेपालकै पुरानोमध्येको यो शहर यतिबेला महानगरोन्मुख दिशामा छ । गर्मीलाई यहाँको सभ्यता, रहनसहन, खानपान र संस्कृति लगायत तमाम चिजले ओझेल पारिदिएको छ । महानगर बन्न आवश्यक पुर्वाधारहरु खडा गर्दै अघि बढेको नेपालगन्ज कुनैबेला मध्य र सुदुरपश्चिमका २४ जिल्लाको केन्द्र हो । सात सालको क्रान्तिको विगुल पश्चिम नेपालमा नेपालगन्जबाटै बज्थ्यो । यस हिसाबले पनि यो ऐतिहासिक सहर हो ।

सन् १८१६ मा सुगौली सन्धी भएपछि गुमेको यो भुभाग भारतीय स्वतन्त्रता संग्रामको गदर आन्दोलन दबाउन ब्रिटीस इन्डियालाई सहयोग गरेपछि अंग्रेज सरकारले जंगबहादुर राणा नेतृत्वको नेपाल सरकारलाई ४४ बर्षपछि फिर्ता गरेका हुन् । त्यसरी उपहार पाएको नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)को केन्द्र पनि नेपालगन्ज नै रहेको इतिहासमा उल्लेख छ ।

नेपालगन्ज संघीय राजधानी काठमाडौं, ललितपुर र भक्तपुर, पोखरा र पाल्पापछि सरकारले व्यवस्थित बसाएको नेपालकै छैटौं पुरानो शहर हो । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको समतल तराईको यो पहिलो शहर रहेको बिभिन्न दस्तावेजमा उल्लेख छ । भारतको उत्तरप्रदेश अन्तर्गत बहराइच जिल्लासँग सिमाना जोडिएका कारण यो सिमावर्ती शहर हो ।
७३ हजार जनसंख्यासहितको पश्चिम नेपालको एक समय व्यापारिक केन्द्र रहेको व्यस्त शहर नेपालगन्ज चेतना र राजनीतिको मुल थलो पनि हो ।

त्यसैले त ३४ प्रतिशत मधेशी, १८ प्रतिशत थारु, २० प्रतिशत मुस्लिम र २८ प्रतिशत पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज सद्भावको शहर हो । महानगरको यात्रामा हामीले धेरै सम्भावनाको खोजी गरिरहेका छौं । सकारात्मक सोंचको विकास गर्न विचार प्रवाह गरिरहेका छौं । निराशा हैन, आशा र सम्भावना देखाइरहेका छौं ।
कुनैपनि सहर महानगर बन्नका लागि पक्कै भौतिक पुर्वाधारदेखि भौगोलिक क्षेत्रफल, जनसंख्या अत्यावश्यक छन् । नेपालगन्ज यसअर्थमा भाग्यमानी छ । नजिकै उदाउँदो नगर कोहलपुर छ । जहाँ कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ । सम्भवतः निकट भविष्यमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने बाटोमा अघि बढेको छ । उसले भारत, पाकिस्तान र अफगानिस्तानलाई पर्खेर बसेको भान हुन्छ मलाई। असम्भव त केही छैन । भारत र पाकिस्तानबीच वैमनश्यता बढेको अवस्थामा तटस्थ भुमिका रुपमा कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम दुई देश जोडिदिने कडी बन्न सक्छ । वास्तवमा खेलकुद द्धन्द्ध सुल्झाउने माध्यम पनि त हो । युद्धग्रस्त देश अफगानिस्तानको होम ग्राउन्ड पनि हुनसक्छ नेपालगन्ज वा कोहलपुर । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले जतिसक्दो चाँडो कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणतर्फ सामुहिक कर्म गर्न सक्नुपर्छ । किनकी यो कोहलपुरको मात्र हैन, समग्र जिल्लाको परिचय हो । प्रतिष्ठा हो ।

नेपालगन्जलाई फेरि पनि भाग्यमानी ठान्छु म । नजिकै खजुरा पालिका छ । जहाँ खेलकुद संस्कार लोभलाग्दो छ । आवश्यक भौगोलिक क्षेत्रफल, जनसंख्या र भौतिक पुर्वाधारका संरचनापछि साँच्चिकै महानगर बन्नका लागि त्यहाँको शिक्षा, स्वास्थ्यको अवस्था पनि जरुरी छ । साथै सिनेमा, साहित्य र खेलकुदको स्तरले पनि महानगरको परिचय र प्रतिष्ठा उजागर गर्छ । तसर्थ खेलकुद संस्कार बोेकेको खजुरा नजिकै हुनु नेपालगन्जका लागि सकारात्मक पक्ष नै हो । खजुरामा स्पोर्ट्स कम्प्लेक्सको अवधारणा अघि बढिसकेको छ । झण्डै पाँच विगाहा जमिनमा भलिबल, फुटबल, मार्सलआर्टस लगायत इन्डोर खेल हुने बहुउद्देश्यीय कभर्डहल तथा स्वीमिङ पुल सहितको डिपिआर तयार भइसकेको छ । यसले पनि महानगरको यात्रालाई सार्थक गन्तव्यमा पुराउन सहयोगी भुमिका खेल्नसक्छ । नेपालगन्ज त साविकको जिल्ला सदरमुकाम हो । हरेक बस्तीको सपना हो । नेपालगन्जको विकासले जिल्लाको विकासमा टेवा पुग्छ भने जिल्लाको कुनाकाप्चासम्म पुग्ने विकासले नेपालगन्लाई थप समृद्ध बनाउने हो । महानगर गाथा लेख्ने सन्दर्भमा यसपटक खजुरा शुक्र भलिबल स्टेडियमको कथा पस्कदै छु ।

यसरी बन्यो शुक्र भलिबल स्टेडियम

खजुरा क्षेत्रका विद्यालय तथा क्लबहरुलाई खेल सामग्री वितरण गर्ने कार्यक्रम तय गरिएको थियो । राजधानी बसाइका क्रममा बिभिन्न स्रोतबाट खेलसामग्री संकलन गर्न सफल भएका थियौं । नेपाल भलिबल संघको बार्षिक क्यालेन्डर अन्तर्गत २०६७ सालमा दोस्रो राष्ट्रिय पुरुष बिच भलिबल खजुराकै सितापुर गौघाटमा भव्यताका साथ सम्पन्न गरेपछि खजुराबासीको आशा र बिश्वास चुलिंदो थियो । त्यसले हामीलाई जिम्मेवारबोध बनाउँदै लगेको थियो । खजुरामा केही गर्ने दृढ इच्छाशक्ति जाग्दै पनि थियो । भिम(ओली)जी र म भलिबलको जिम्मेवारीमा थियौं ।

भलिबल, फुटबल लगायत खेलसामग्री वितरण गर्ने दिन निश्चित गरी सम्बद्धलाई पत्रचार गरिसकिएको थियो । बाँके प्रहरी प्रमुख एसपी विक्रमसिंह थापा थिए, निकै जल्दाबल्दा प्रहरी अधिकारी । उनको चर्चा परिचर्चा जताततै थियो । पत्रकार झलक (गैरे)जीसँगको परामर्शपछि उनलाई नै प्रमुख अतिथि बनाउने निधो भयो । नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाको हलमा कार्यक्रम आयोजना भयो । त्यहीं कार्यक्रममा हामीले स्पोर्ट्स एकेडेमीको सपना बिजारोपण गरिदियौं । एकहिसाबले सबैलाई सपना देखाइदियौं । खेल सामग्री बाँड्ने फगत बहाना मात्र थियो, हाम्रो खास उद्देश्य त खजुरेलीलाई एक ठाउँमा जम्मा गरी खेलकुदको महत्व र त्यसका लागि केही क्रियटिभ काम गर्न लागिएको योजना सुनाउनु थियो । भोलिपल्टका पत्रपत्रिकाले स्पोर्ट्स एकेडेमी सम्बन्धि समाचार छापे । यसले जिल्लाका स्थापित खेलकर्मीलाई पनि ध्यानकेन्द्रित गराइदियो ।

सितापुरकै केही बुज्रुकहरुले पनि औपचारिक प्रस्ताव गर्न आग्रह गरेबमोजिम हामीले लिखित प्रस्तावना पत्र दर्ता गरायौं । स्पोर्ट्स एकेडेमीका लागि पब्लिक प्राइभेट पार्टनरसीप अन्तर्गत निर्माण तथा सञ्चालन हुनेगरी जग्गा उपलब्ध गराउन आग्रह गरिरह्यौं । जनप्रतिनिधिविहिन अवस्थामा गाविसले ती प्रस्तावना पत्र सायद कतै दराजमा थन्काइदियो । उता शुक्र माविलाई दिइएको प्रस्तावनापत्र उपर पनि कहिल्यै छलफल हुन सकेन । हामी निराश भएनौं ।

जिल्लावासी नेता सुशील कोइराला प्रधानमन्त्री बने । त्यो मौका खेर जान नदिने योजना बुन्यौं । र, सुरु गर्यौं प्रधानमन्त्री कप महिला भलिबल । सिमावर्ती शहरमा बस्ने भएका कारण नेपाल र भारतीय टिमबीच स्पर्धा हुँदा नेपाली खेलाडीको स्तर अभिवृद्धि हुने सोचेरै हामीले पहिलो बर्षदेखि नै भारतीय टिमलाई समेत आमन्त्रण गरेका थियौं । २०७० साल फागुनमा सुरु गरिएको प्रधानमन्त्री कप २०७४ सालसम्म आइपुग्दा पाँचौं संस्करण पुरा गर्न सफल भयो । यसबीच प्रधानमन्त्री कपले आफ्नो दायरा फराकिलो बनाउँदै लग्यो । बिश्वास आर्जन गर्दै अघि बढ्यो । साँच्चिकै भारतीय राष्ट्रिय टिमका खेलाडी नेपालगन्जमा उतार्ने हैसियतमा प्रधानमन्त्री कप पुग्यो । यसले अन्तर्राष्ट्रिय समुदायमा पनि आफ्नो बिश्वास जित्न सफल भयो । फलस्वरुप बंगलादेशी टिम चौथो संस्करणमा नेपालगन्ज आयो । तेस्रो र चौथो संस्करणमा च्याम्पियन बन्ने भारतीय कोलकाता रेलवे टिमका दुई खेलाडी अनुश्री घोष र प्रिती सिंह दक्षिण एशियाली महारथी भारतीय राष्ट्रिय टिमका महत्वपुर्ण सदस्य हुन् । यसरी प्रधानमन्त्री कपको चुलिंदो क्रेजले जोकोहीलाई लालायित बनाउँदै लगेकै हो । हरेक संस्करणमा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव वा नेपाल ओलम्पिक कमिटीका अध्यक्षको उपस्थिति रहनु नै यसको अर्को क्रेजको कारण हो । चर्चित सिने स्टार रेखा थापादेखि मिस नेपालसम्मले सद्भावना दूतको प्रस्ताव स्वीकार गर्नु पनि यसको अर्को आकर्षक पक्ष हो ।

यसबीच भिमजी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनित भए । उनले बिभिन्न विद्यालय तथा सार्वजनिक जमिनमा खेल मैदानका लागि सानातिना बजेट विनियोजन गर्न थालिसकेका थिए । खजुरा क्षेत्रमा खेलकुदको सम्भावनालाई भिमजीले नजिकबाट आत्मसात गरेका थिए । उनले आठौं राष्ट्रिय खेलकुद आयोजनाको झण्डा बोकिसकेका थिए । उनको अर्जुनदृष्टि केवल आठौंमा थियो । हरेक कार्यक्रममा मिसन आठौं भनिरहेका थिए । आठौंको तयारीमा उनी यसरी जुटेका थिए कि राखेप नेतृत्व उनीसामु नतमस्तक थियो । सदस्यसचिव बिष्टको पनि आफुले पाएको जिम्मेवारी पुरा गर्नैपर्ने दृढ अठोट थियो । मिसन २०७५ पुरा गर्ने हिसाबले सदस्यसचिव बिष्टको नेपालगन्ज आउजाउ बाक्लिदै थियो ।

प्रधानमन्त्री कपको पाँचौं संस्करण हुने भयो, सदाझैं फागुन महिनामा । हामीले यसलाई बर्षेनी स्तरोन्नति गर्दै अघि बढेका थियौं । त्यसका लागि राखेपको साझेदारीको महत्वपुर्ण भुमिका रहन्थ्यो । त्यही सोचेर सदस्यसचिव केशव बिष्टलाई प्रमुख अतिथिको प्रस्ताव गरेका थियौं । उनले समापनका लागि अनुमति दिए । यस बर्ष भारतीय रेलवे टिम कोलकाता आन्तरिक कारणले सहभागि हुन नपाउने जानकारी पठाइसकेको थियो । देहरादुनको टोली सहभागि थियो, तर कमजोर । उता बंगलादेशी टिमले पनि सेमीफाइनल यात्रा गर्न असमर्थ भयो । बंगलादेश दक्षिण एशियामा कमजोर टिम नै हो । महिलातर्फ नेपाल सदाबहार शीर्ष तीन भित्रको टिम हो । भारत र श्रीलंका प्राय आमनेसामने हुने टिम हुन् । श्रीलंका छैटौं संस्करणमा सहभागिता जनाउने वचन दियो, पाँचौंमा आउन सकेन । तसर्थ घरेलु टिम नेपाल एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमी उपाधि भिडन्तका लागि कोर्टमा उत्रिए । यी दुवै चिरपरिचित घरेलु कोर्टका फाइनलिष्ट टोली हुन् । एउटा विभागिय टिम, अर्को पब्लिक टिम । यसकारण पनि दर्शको घुइचो थियो नेपालगन्ज रंगशालाको कभर्डहलमा । त्यसो त कभर्डहल अक्सर भरिएकै हुन्थ्यो । फाइनलमा थामिनसक्नु भिंड थियो । सदस्यसचिव बिष्ट त्यसको साक्षी थिए । अरु पनि कैयन साक्षी हुन् । नेपाली खेलकुदको सर्वोच्च निकायको प्रमुख भएका नाताले उनले उक्त स्टेडियमको विकल्प सोच्न थालिसकेका थिए । मञ्चमा बसेकै बेला उनले कानेखुशी गरे । उनले भने–‘यो हल त तपाईंहरुलाई साँघुरो भयो, अर्को विकल्प खोज्नुस ।’ उनको यो जिम्मेवारी पनि त हो । समग्र खेलकुदको बागडोर सम्हालेको व्यक्तिले खेलको विकासमा चिन्तन त गर्नैपर्छ । उनको मनोविज्ञान बुझेर हामीले पनि तत्काल जवाफ दियौं–‘राखेपले अर्को ठुलो कभर्डहल बनाइदिनुपर्यो ।’ उनले स्वीकृति स्वरुप टाउको हल्लाए मात्र ।

मञ्चासिनबाट आयोजक र अधिकांश दर्शक खजुरा क्षेत्रकै भएको उनले सम्भवतः जानकारी पनि पाए । उनले तत्काल क्षेत्रीय खेलकुद अध्यक्ष भिमजीलाई जग्गाको बिषयमा सोधपुछ गरे । भिमजी त्यही मौका पर्खेर बसेका थिए । उनले तत्काल आश्वस्त पारे–‘सदस्यसचिव ज्यु, जमिन कति चाहिन्छ, हामीसँग छ ।’ तत्कालन जमिन हेर्न जाने निधो भयो । यति गर्दागर्दै बेलुकी झिसमिसे साँझ भइसकेको थियो । हामी आयोजकमध्ये केही साथीहरु खेलाडी अफिसियल व्यवस्थापनतिर लाग्यौं, भिमजी सदस्यसचिवलाई लिएर खजुरा सितापुर जानुभयो । सायद स्कर्पियोको प्रकाशले जमिनको क्षेत्रफलका बारेमा भिमजीले सदस्यसचिवलाई ब्रिफिङ गरे । भोलिपल्ट नै शिलान्यास गर्ने तयारी अघि बढ्यो । राखेपमा सदस्यसचिव कन्भिन्स भएपछि सबै हुन्छ भन्ने कम्तीमा हामीले बुझेका थियौं । त्यो अवसर खेर जान नदिनेमा हामी दृढ थियौं । प्रक्रिया पद्धती मिलाउँदै जाने कुरा हो, नेतृत्वलाई जिम्मेवारबोध गराइहाल्नुपर्छ भनेर भोलिपल्ट बिहानै शिलान्यास गरियो । सबैका मुहारमा खुशी देखिन्थ्यो । हाम्रो खुशी चुलिनु स्वभाविक थियो । जब राखेपले आठौं राष्ट्रिय खेलकुदका लागि पुर्वाधार निर्माणको काम अघि बढायो, शुक्र भलिबल स्टेडियम पनि सुचिकृत भयो । शुक्र माविको जमिन भएका कारण उसको अस्तित्वका लागि पनि शुक्र भलिबल स्टेडियम नामाकरण गरिदिएका हौं । नाममें क्या रखा हे, भनेझैं नामभन्दा पनि काम ठुलो भन्ठानेका छौं । काम र परिणाममा हामी बिश्वास गर्छौं । समाजमा केही नकारात्मक सोंच भएका मानिस पनि हुन्छन् । त्यस्ता मानिसहरु कुण्ठा पालेर बसेका हुन्छन्, बेला कुबेला कुन्ठित मानसिकता पस्किन्छन् । जसको जति योग्यता, क्षमता, ज्ञान र सुचना हुन्छ, उसले सोच्ने त्यति नै हो । खजुरा भलिबल स्टेडियम सही निर्णय रहेछ भन्ने आठौं राष्ट्रिय खेलकुदले देखाइसकेको छ । आठौं राष्ट्रिय खेलकुदका केही खेल चैत २७ गतेदेखि नै सुरु भए । सुरुवाती ३,४ दिनसम्म दर्शकको उपस्थिति अत्यन्त न्युन देखिएपछि राखेप आलोचना खेप्दै थियो । जब खजुरामा बक्सिङ, भलिबल र फुटबल सुरु भए, दर्शकको ओइरो लाग्यो । खेल संस्कार भएको ठाउँ खजुरा रहेछ भन्ने खेलकुद नेतृत्वलाई बुझाइदियो । अझ, भलिबल स्टेडियममा दर्शकको उपस्थिति देखेर राखेप पदाधिकारी तथा पत्रकारहरु पनि निकै प्रभावित देखिन्थे । सबैको एउट भनाइ हुन्थ्यो–‘साँच्चिकै राम्रो काम यहाँ भएछ ।’ उपभोक्ता समितिको मेहनत र लगाव तथा स्थानीय व्यापारीहरुको सहयोगका कारण यो सब सम्भव भएको हो । खजुराले करोडौंको संरचना पाएको छ । साँच्चिकै भन्नुपर्दा दुई करोड रुपैयाँको लागतमा भलिबल स्डेडियम तयार भएको छ । यसमा भलिबल एकेडेमी सञ्चालन हुने तयारीमा छ । अर्कोतर्फ नेपाल खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले विस्तृत परियोजना रिपोर्ट तयार गरिसकेको छ । जसमा हालको स्टेडियमलाई कभर्ड गर्नेदेखि अर्को बहुउद्देश्यीय कभर्डहल, मिनी फुटबल स्टेडियम, स्वीमिङ पुल लगायत समावेश गरिएको मिनी स्पोर्ट्स कम्प्लेक्स नै बन्नेछ । अझ सरकारको हरेक निर्वाचन क्षेत्रमा स्पोर्ट्स भिलेज बनाउने नीतिलाई यसले बल पुराउने निश्चित छ । स्पोर्ट्स एकेडेमीको सपना बिस्तारै स्पोर्ट्स कम्प्लेक्समा परिणत हुने देखिएको छ । यसका लागि स्थानीयको चिन्ता र चासो त्यत्तिकै अपरिहार्य छ । स्थानीयले एकता, सम्बाद र सहकार्यको उत्कृष्ट नमुना देखाउनुपर्नेछ । विवादित क्षेत्रमा हात हाल्ने इच्छा कसैलाई हुँदैन । तसर्थ साँघुरो घेराभन्दा माथि उठेर, झिनामसिना मतभेद त्यागेर बृहत्तर खजुराको विकासमा हातेमालो गर्न सके तपाईं हामी सबैलाई भबिष्यका सन्ततीले सम्झनेछन्, अन्यथा कुन्ठाले तपाईंलाई पोलिरहनेछ । गाउँमा पनि आधुनिक हुँदै अत्याधुनिक कभर्डहल तथा स्टेडियम निर्माण हुने कुरा असम्भव हैन रहेछ । सबैलाई चेतना भया । सबैको जय होस् ।

प्रतिक्रिया

प्रतिक्रिया