विकासमा जुटेका वडाध्यक्ष सुनार

केही महिना अघि नेपालगन्जको एक कार्यक्रममा कसैले भलाकुसारी गर्दा भनेका थिए, ‘स्थानीय तहको चुनाव पछि सबै भन्दा बढी कोही ब्यस्त छ भने उनी तिलक वीर सुनार हुन् ।’ सबैले टाउको हल्लाउँदै सहमति जनाएका थिए । सबैको सहमतिमा मेरो पनि सहमति थियो । कारण उनी एक जन निर्र्वािचत जनप्रतिनिधि हुन् । पक्कै पनि जनप्रतिनिधि ब्यस्त हुनै पर्छ । जनताको काममा खटिनै पर्छ । दुई दशक पछि स्थानीय तहलले निर्वाचित प्रतिनिधि प्राप्त गरेको थियो कामको चाप पक्कै पनि धेरै हुनु स्वभाबिक नै हो । यिनै कुराको मध्यनजर गर्दै दिनरात भौतिक पूर्वाधार निर्माण, वडाको दैनिक कामकाज देखि खेलकुद र वडाबासिको ब्यक्तिगत सहयोगमा समेत निरन्तर खटिरहेका र युवा माझ प्रेरणाको स्रोत बन्दै एक उदाहरणीय जनप्रतिनिधिको रुपमा परिचित खजुरा गाउँपालिका वडा नम्बर चारका अध्यक्ष हुन्, तिलक वीर सुनार ।


एउटा खेलाडी, एउटा खेलप्रेमी, क्लबको प्रतिनिधि हुँदै अथक परिश्रम र तन मन होस या धन सबै किसिमले सहयोग र सहकार्य गरि खजुरामा खेलकुदलाई उर्बर बनाउन लागिपरेका ब्यक्ति नै दुई दशक पछि सम्पन्न स्थानीय निर्वाचनबाट वडा नम्बर चारको अध्यक्ष चुनिदा सबैमा एक किसिमको आशा अनि भरोसा पलाएको थियो । त्यही आशा अनि भरोसामा खरो उत्रिएका तिलक वीर सुनारको दिनको सुरुवात नै वडामा निर्माण कार्य चल्दै गरेको स्थानहरूको भ्रमणबाट नै हुन्छ । उनी आफै पनि गैती र बेल्चा हानिरहेका हुन्छन् । तसलामा माटो बोकी रहेका देखिन्छन् । पानी पर्दा एक किसिमको खुसिका बीच उनी निर्माण कार्य चल्दै गरेको सडगमा पुग्दा सम्भावित असरले उनलाई पिरोल्छ । त्यसैले उनी भिज्दै सकेसम्मका कार्यमा आफै तल्लिन प्रायः हुन्छन् । उनी आफ्नो पिर सामाजिक संजालमा यसरी पोख्छन् । ‘पानी पर्यो, बर्षा पनि लाग्यो । अरुलाई खेतिकिसानी को चिन्ता होला मलाइ खेती संगै मेरो बाटो कै चिन्ता छ’ उनी निर्माणाधीन बाटोको चिन्ता पोख्दै भन्छन् ।


नेपालगन्ज गोल्डकप २०७५ खेल आयोजना भएको खजुरा डि गाउँ स्थित खेल मैदान लाई मिनि रंगशालाको रुपमा बिकास गरि बैकल्पिक रंगशाला निर्माण गर्नुपर्छ भन्दै लामो समय सम्म कृयाशिल रहेका अध्यक्ष सुनारको अर्को मुख्य कार्य खजुरामा निर्माणाधीन मिनि रंगशाला पनि एक हो । सुनार तथा समुहको सकृयता र चासो कै देन हो मिनि रंगशाला । एउटा खेलाडी, खेलप्रेमी र खजुराको खेलकुदको अभिभावकको रुपमा आफ्नो छबि निर्माण गरेका सुनारले आफ्नै वडामा मिनि रंगशाला निर्माण गर्ने अवसर लिदा खजुरा क्षेत्रकै लागि मात्र नभएर जिल्लाकै खेलकुद क्षेत्रको लागि ठूलो उपलब्धि भएको बताउँछन् ।


‘४० बर्ष देखि निरन्तर फुटबल खेलिदै आएको खेल मैदानले प्याराफिट सहितको मिनि रंगशाला निर्माणको अवसर प्राप्त गर्दा निकै खुसि छु, यसले हाम्रो वडा र खजुरा क्षेत्रलाई मात्रै नभएर जिल्लाको खेलकुदको लागि नयाँ आयाम थप्न मद्दत गर्नेछ,’ अध्यक्ष सुनार बताउँछन् ।
भैतिक पूर्वाधार निर्माणको लागि पनि तिलक वीर सुनारको वडा नमुना साबित भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँ देखि चन्तवा नाला सम्मको सडग निर्माण गुणस्तर तथा निर्माण अवधिको हिसाबले पनि उदाहरणीय काम गरेका सुनार आफ्नो वडामा शिक्षा , स्वास्थ, कृषि र सडक पुर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँछन् ।


त्यस्तै खजुरा गाउँपालिकाकै नमुना सडक पूर्वाधारको रुपमा परिचित गराउन खजुरा एक नम्बर प्रहरी बिट देखि डि गाउँ, ई गाउँ सम्मको पाँच मिटर चौडा बाटो पिच गर्ने महत्वपूर्ण योजनाको काम समेत सकेका युवा जनप्रतिनिधि सुनारले खजुरा गाउँ पालिका वडा नम्बर ४ एक नम्बर डि गाउँ देखि ई गाउँ, एफ गाउँ हुँदै कोहलपुर नगरपालिका अन्तरगत नेपालगन्ज–कोहलपुर सडक खण्डमा पर्ने हवल्दारपुर सम्मको बैकल्पिक सडकको रुपमा स्तर उन्नतिका लागि पहल गरेका थिए जसको परिणाम स्वरुप भौतिक पूर्वाधार तथा शहरी बिकास मन्त्रालयद्वारा अहिले स्तर उन्नतिको लागि बजेट समेत छुट्याइएको छ ।


अध्यक्ष सुनार मिलनसार, सहयोगी र मनका धनी समेत छन् । गाउँलेको दुःखलाई आफ्नै दुःख सम्झेर त्यसको समाधान गर्न तर्फ सधै अग्रसर रहने अध्यक्ष सुनारकै अग्रसरतामा खजुरा डि गाउँका छात्रा प्रतिमा शर्मालाई एमबिबिएस अध्यनको लागि नपुग खर्चको लागी बृहत रुपमा सहयोग संकलन गरि उनको पढाइमा सहयोग पुर्याउन भुमिका खेलेका थिए ।
वडाको दैबिप्रकोप होस या कुनै बिपत्ति वडा अध्यक्ष ब्यक्तिगत तथा वडाको तर्फबाट वडाबासीको सेवामा कहिल्यै पछि पर्दैनन् । स्थानीय क्लब, संघसंगठनलाई दिल खोलेर सहयोग गर्ने गर्छन् सुनार । सुनारले वडा नम्बर ४ को अभिभावकत्व ग्रहण गरि गाउँको हरेक कार्यमा उनी सामेल रहने र त्यसको लागि हदै सम्मको कार्य गर्ने जनप्रतिनिधिको रुपमा प्राप्त गरेको वडाबासीको अनुभव छ ।


खजुरा गाउँपालिका वडा नम्बर चार लाई समृद्ध वडाको रूपमा बनाउन लागि परेका वडा अध्यक्ष तिलक वीर सुनारको संग आफ्नै योजनाहरु छन् । सुनारले आफुलाई भिजनरी जनप्रतिनिधिको रुपमा अब्बल साबित गर्दै छन् । वडाको योजना छनौटमा वडाबासिको साथ खोज्छन् । सबै मिलेर समस्या पहिचान गर्छन् अनि काम तथा आर्थिक मामिलामा समेत पादर्शिता अपनाउँछन् । हरेक कार्यलाई सामाजिक संजाल तथा वडाबासीमा प्रस्तुत गर्छन् । सुनारको यहि छबीले वडाबासीको मन जितेको छ ।


उनी समृद्ध वडाको लागि एउटा सोच र लक्ष्य लिएर अगाडी बढेको जिकिर गर्छन् । बाटोको समस्या, ढलनिकास, शिक्षा, स्वास्थ, विद्युत, युवा शक्तिको लागि रोजगार लगायतका समस्याहरुको निराकरणको लागि विभिन्न योजना रहेको उनी बताउँछन् । ‘बाटोको समस्या, ढलनिकास, शिक्षा, स्वास्थ, विद्युत, युवाशक्तिको लागि रोजगार लगायतका योजनाहरु हामी संग छन् । र संगै कृषिको लागि हाटबजार, पार्क तथा खेल मैदान निर्माण आयोजना गर्नुपर्ने छ । काम गर्दै जाँदा अवश्य हामी सफल हुन्छौं र हामी समृद्ध वडा बनाएर देखाउनेछौ,’ अध्यक्ष सुनार आफ्नो अठोट बताउँछन् ।


‘बाटोको समस्या, ढलनिकास, शिक्षा, स्वास्थ, विद्युत, युवाशक्तिको लागि रोजगार लगायतका योजनाहरु हामी संग छन् । र संगै कृषिको लागि हाटबजार, पार्क तथा खेल मैदान निर्माण आयोजना गर्नुपर्ने छ । काम गर्दै जादा अवस्य हामी सफल हुन्छौं र हामी समृद्ध वडा बनाएर देखाउनेछौ, किनकी हामी वडका सम्पूर्ण जनप्रतिनिधिहरु मिलेर यहाँ सम्म पुगेका छौ’ अध्यक्ष सुनार आफ्नो अठोट संगै वडाका सम्पूर्ण रचनात्मक कार्यको श्रेय सबै वडाबासी र जनप्रतिनिधि रहेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया