प्रदेश सरकारले बाँकेका ४१ गरिब घर परिवारलाई घर बनाइदिने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलका निजी सचिव सुर्य रोकायका अनुसार, बाँकेको कोहलपुर–१५ सम्शेरगन्जमा रहेका चिडिमार समुदायका लागि ४१ घर प्रदेश सरकारले बनाइदिन लागेको हो ।
‘त्यसका लागि आजबाट औपचारिक काम सुरु भयो’, जग्गा एकीन गर्न फिल्ड पुगेका रोकायले शनिबार दैनिक नेपालगन्जसँग भने, ‘दुई विगाह तीन कठ्ठा जग्गा कोहलपुर नगरपालिकाले उपलब्ध गराएकाले त्यसैमा आवश्यक योजना बनाएर काम अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।’
गरिबी निवारण कार्यक्रम अन्तर्गत गरिबको आवासका लागि प्रदेश स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चार करोड बजेट विनियोजन गरेको छ । ‘जनता आवास कार्यक्रमसँग नजुध्ने गरी केन्द्र सरकारका सम्बन्धित कार्यालयसँग समन्वय गरेर गरिबहरुका लागि घर बनाइँदिने प्रदेश सरकारको कार्यक्रम हो’, रोकायले खासगरी सीमान्तकृत वर्गका समुदायलाई उक्त बजेट समेट्ने जानकारी दिए ।
कोहलपुर नगरपालिकाले जग्गाका लागि ढिलाई गरेर परियोजना समयमै सुरु हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘ढिलो भएपनि काम सुरु भएपछि समयमै सक्नेगरी अगाडि बढाइनेछ’, रोकायले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्रीज्यूले नजिकबाट कार्यक्रमलाई मोनिटरिङ्ग गरिरहनु भएको छ ।’
रोकायका अनुसार, शनिबार कोहलपुर नगरपालिका, नापी कार्यालय बाँके लगायतका सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको टोलीले जग्गा पहिचान गरी आवश्यक प्रक्रिया अगाडि बढाएका छन् ।