विकासमा स्थानीय चासो

सकेसम्म आवागमन असहज नहुने गरी निर्माण कार्य अगाडि बढाउन उपप्रमुखको निर्देशन

 

नेपालगन्जको सेतु विक चोकमा भैरहेको सडक तथा नाला निर्माण कार्यमा स्थानीयबासीले चासो व्यक्त गरेका छन् । स्थानीय बासिन्दाले चोकको सडक निर्माणसँगै उत्तर–दक्षिण तर्फको नाला पनि सरसफाई गर्न माग गरेका हुन् । हरेक बर्षात्मा सहजै पानीको निकास नहुँदा सेतु विक चोक क्षेत्र डुबानमा पर्ने गरेपछि चोकको पश्चिम तर्फ सडकसँगै नयाँ नाला पनि निर्माण भैरहेको छ ।

 
पहिले न्यूरोड सडक मात्रै निर्माणको योजना रहेपनि पानी तालिदा सडक दीर्घकालीन रुपमा टिक्न नसक्ने आवाज उठेपछि उपमहानगरपालिकाले आवश्यक ठाउँमा नाला निर्माण र सरसफाईको प्रतिबद्धता जनाएको थियो ।
नाला पनि सडक निर्माणसँगै सरसफाई हुनुपर्ने माग गरेपछि उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले सोमबार निर्माण स्थलमा स्थानीय अगुवाहरुसँग छलफल गरेकी छन् । छलफलका क्रममा व्यापारिक क्षेत्र भएकाले चारै तिर एकैपटक काम हुँदा हिड्न नै समस्या भएको गुनासो गर्दै स्थानीयबासीले एकतर्फको काम सकेपछि मात्रै अर्को तर्फको काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । उपप्रमुख थापाले निर्माण कम्पनी र सहरी विकास कार्यालयका प्रतिनिधिसँग आवागमनका कम समस्या हुने गरी निर्माण कार्य दु्रत गतिमा गर्न गरिन् ।

 

 

नाला तथा सडक निर्माण सहरी विकास कार्यालय मार्फत र नाला सरसफाईको काम उपमहानगरपालिकाले गर्ने भएपनि सहरी विकास कार्यालयले नै नाला सफा गरिदिने प्रतिबद्धता छलफलका क्रममा इन्जनियर होम नाथ भुषालले गरेका छन् । ‘प्लाष्टर गरिएको नाला सडक बनिसकेपछि सरसफाई गर्दा पुनः सडक अवरोध हुने भएकाले निर्माणसँग सरसफाईको काम पनि गर्न आग्रह गरेका हौं’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका स्थानीयबासी कृष्णप्रसाद श्रेष्ठले भने, ‘नयाँ नाला बनाइयो अब पुरानो नाला पनि सफाई गर्नुपर्छ ।’

 

 

स्थानीयबासी ज्ञानेन्द्र श्रेष्ठले चोकका दुवै साइडमा एकै पटक निर्माण कार्य अगाडि बढाउँदा व्यवसायी र आवातजावत गर्नेलाई समस्या हुने बताए । उनले एकातर्फको निर्माण कार्य सकेपछि मात्रै अर्को तर्फ गर्नुपर्ने धारणा राखे ।
‘चोक भएकाले आवागमन बढी हुने ठाउँ हो’, स्थानीयबासी महासंघका केन्द्रीय सदस्य भन्छन्, ‘व्यापारिक प्रतिष्ठानहरु पनि भएकाले काम गुणस्तरीय र छिटो हुन आवश्यक छ ।’ त्यसका लागि सम्बन्धित पक्षहरुसँग आफुले निरन्तर आग्रह गरिरहेको महासंघका केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । ‘हाम्रा लागि बनेका सडक र नाला कसरी र कस्तो बन्दैछन् भनेर हामीले नै चासो राख्नुपर्छ’, श्रेष्ठ भन्छन् । केन्द्रीय सदस्य श्रेष्ठले सेतु विक चोकमा जस्तै प्लाष्टर सडक न्यूरोडको बसापार्कदेखि त्रिवेणीमोडसम्म निर्माण गरिने हो भने त्यो दीर्घकालीन हुने बताउँछन् । ‘बजेट समस्या हुने हो भने बरु आगामी बर्ष थप सडक बनाउन सकिन्छ’, श्रेष्ठ भन्छन् ।

 

 

छलफलका क्रममा इन्जनियर होम नाथ भुषालले उपमहानगरपालिकाको जिम्मा भएपछि सहरी विकासले नै नाला सफा गरिदिने बताउँदै नालाको केही उचाई समेत बढाइदिने बताएका थिए । ‘केही समयमै हामी नाला पनि सफा गरिदिनेछौं’, उनले भने ।

 

 

व्यवसायीहरुले चाडपर्वका बेला रहेकाले भैरहेका कामहरु छिटो गरिदिन आग्रह गरेका थिए । उनीहरुले जनशक्ति थपेर तथा कार्यअवधी बढाएर भएपनि काम छिटो गर्न माग गर्दै बाटो बन्द हुँदा व्यवसायमा नाकारात्मक प्रभाव परिरहेको बताए । छलफलमा निर्माण कम्पनी कुमार कन्स्ट्रक्सनका नविन कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया