नहरमा पानी छोड्दै सिक्टा

समाचारदाता
दैनिक नेपालगन्ज

सिक्टा सिंचाई आयोजनाले आजबाट नहरमा पानी छाड्ने भएको छ । सिक्टाले मूल बाँधबाट पश्चिम मूल नहर र शाखा नहरहरुमा आजबाट पानी छोड्न लागेको जानकारी दिएको छ ।

 

‘मूल नहर ४५ किलोमिटर र सिधनिया शाखा नहर, डुडुवा सिंचाई प्रणाली अन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहरहरु तथा पूर्वी मूल नहरमा पानी छाड्न लागिएको हो’, आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘उक्त नहरहरुमा आवश्यकता अनुसार पानी र छाड्ने काम जारी रहनेछ ।’
आयोजनाले नहरमा पानी छाड्न लागेकाले मूल तथा शाखा नहर नजिकका बासिन्दालाई चनोखा हुन आव्हान गरेको छ । ‘पानी छाडिने भएकाले कुनै पनि दुर्घटना नहोस् भनेर सूचित गरिएको हो’, इन्जिनियर कार्कीले भने, ‘नहरमा पशु, चौपाया, बालबालिकालाई पस्न नदिन आव्हान गरिएको छ ।’

 

नहर संचालनको क्रममा परुवा सोता, डुडुवा नाला तथा जेठी नालामा रहेका एस्केपहरुमा समेत पानी छोडिने÷बन्द गरिने आयोजनाले जानकारी गराएको छ । नहरमा पानी छाड्नु अघि आयोजनाले कतिपय स्थानमा नहर सरसफाई समेत गरेको छ । कतिपयले उपशाखाबाट पानीको वहाव हुने पुराना कुलोहरु अतिक्रमण भएकाले पानी छाड्दा समस्या देखिन सक्ने आशंका गरिएको छ । ‘पानी छाड्दाको अवस्थामा नियालेर थप योजना अगाडि बढाइनेछ’, इन्जिनियर कार्कीले भने ।

 

सिक्टा सुरु आयोजनाको बाँध २०६३ सालबाट निर्माण सुरु भएको थियो । मूल नहरमा प्रतिसेकेन्ड ५० क्युमेक्स पानी बग्न सक्ने क्षमता छ । बाँकेमा ५२ हजार ८३८ हेक्टर खेतीयोग्य जमिनमध्ये २७ प्रतिशतमा मात्र सिंचाइ सुविधा छ । धान फल्ने ३६ हजार ५०० हेक्टरमध्ये १३ हजार ५०० हेक्टरमा मात्र सिंचाइ सुविधा छ । बाँकेको अधिकांश क्षेत्रमा हिउँदे बाली हुँदैन । सिक्टा सिंचाई आयोजना पछि आकाशे पानीको भर पर्नु नपर्ने किसान भगवान शरण यादव बताउँछन् । ‘नहरमा पानी आएपछि आकाश बादलिंदा खेलमा पानी ताल्नका लागि दौडिनु पर्ने अवस्था अन्त्य हुनेछ’, उनी भन्छन्, ‘किसानले समयमा खेती गर्न पाउँदा उत्पादकत्व समेत बढ्छ ।’

 

मूल नहरको ३० किलो मिटरमा रहेको सिधनिया शाखा र ३४ किमिमा रहेको डुडुवा नाला शाखाका उपशाखा मार्फत सिंचाइको लक्ष्य रहेपनि डुडुवाको काम सुस्त गतिमा नै रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया