२०५४ साल पछि बाँकेको राप्तीपारि क्षेत्र विस्तारै बाढीजन्य समस्याबाट प्रभावित हुँदै आएको छ । वर्षायाममा राप्तीनदीले सहत बाहिर फाल्ने पानीलाई भारतले निर्माण गरेको कलकलवा मर्जिनल तटबन्धले प्रभावित गरेपछि बाँकेका तीन दर्जन गाउँमा बाढी जस्तै अवस्था हुँदै आएको छ ।
राप्तीपारिलाई नेपालगन्ज संग जोड्ने एकमात्र सडक हुलाकी राजमार्ग निर्माण हुन लागेको केहि महिनामै विभिन्न स्थानमा क्षतिग्रस्त भएको छ । भारतीय बाटो प्रयोग गर्दै नेपालगन्ज आउनेहरुले राप्तीपारिको विकास बारे अब आशंका ब्यक्त गर्न थालेका छन् ।
सडक र विद्युत त्यस क्षेत्रको विकासका लागि चाहिने मुख्य पूर्वाधार हुन् । तर, राप्तीपारिका बासिन्दाले थालेको विभिन्न प्रयासपछि पनि दुबै सुविधा पुग्न सकेको छैन । सरकारी लापरवाही र बाढीको प्रहारका विच अब राप्तीपारिका बासिन्दाको विकास अड्किएको छ ।
‘निर्माण हुन लागेको सडक पनि बाढीका कारण दर्जन बढि स्थानमा तलाउझैं भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर इन्द्र केसीले भने, यस हिसाबले कसरी निर्माण कार्य पूरा हुन्छ भन्ने चिन्ता भयो । थोरै पानी परेपनि पानी राप्ती नदी भित्र अट्दैन ।
डिभिजन सडक कार्यालयका डिईलाई सुईया सम्म निरीक्षण गराएको छु, इन्जिनियर केसीले भने, तर योे बाढी हाम्रो लागि नयाँ पाठ जस्तै हो । बाढीका कारण कुन कुन स्थानमा कति पानी निकास चाहिन्छ भन्ने कुरो प्रष्ट भएको उनले बताए ।
सडकमा प्रसस्त पानी निकास बनाएर मात्र सडक निर्माण सम्भव रहेको कुरा हामीलाई थाहा हुनु पनि बाढीबाट सकारात्मक हुनु नै हो, इन्जिनियर केसीले भने, यद्यपि बाढीले सडक निर्माण हुन लागेको मेहमानपुर देखि सुईया सम्म करिब ५ करोड भन्दा बढिको क्षति गरेको छ ।
बाढीले गर्दा हामी हरेस खाने कुरो होइन, काम पूरा गरेरै छाडिन्छ, केसीले भने, यो आत्तिनु पर्ने स्थिति होइन । बाढीले सिकाएको बाटो प्रयोग गर्दै सडक निर्माण कार्य पूरा गछौं । बाढीका कारण सोनपुर, भेलुनिया, दोन्द्रा खोला, जमुनी, कालाफाँटा, लक्ष्मणपुर, नरैनापुर, जैरामपुर, हब्रहवा, नेबुवाटार, लगायत स्थानबाट सडक र कल्भर्टहरु बगाएको केसीले बताए ।
सडक पूर्णमा ध्वस्त भएको स्थानमा डाइभर्सन बनाएर पनि हामी सडकलाई आपातकालिन संचालन गर्ने तयारीमा छौं, केसीले भने, केहि स्थानमा डाइभर्सन निर्माणको काम सुरु भैसकेको छ । कम्तिमा एम्बुलेन्स आवतजावत हुने किसिमले सडकलाई सुचारु गर्न हामी प्रयासरत छौं उनले भने ।