ठाकुरसिंह थारू, कमल पन्थी
अरूको घरमा कम्लरी र बुक्रही (श्रीमान् कमैया बसेको घरमा नि:शुल्क काम गर्ने) बस्ने महिलाहरू व्यावसायिक कृषिमा जमेका छन् । कोही कुखुरा पालेका छन् भने कोही तरकारी पेशामा जुटेका छन् । कृषि कर्ममा लागेपछि आम्दानीसँगै उनीहरूको दैनिकी सहज बन्दै गएको छ । यसरी दैनिकी सहज बनेका मध्येकी एक हुन्, राजापुर नगरपालिका–२ की बन्दना थारू । उनी ५ वर्ष काठमाडौंमा कम्लरी बसिन् । हाल उनी कुखुरा पालन र तरकारीखेती गर्दै आएकी छन् । उनले दुई कठ्ठामा लगाएको तरकारीले वर्षमा ५० हजार रुपैयाँ कमाएपछि भारतमा मजदुरी गरिरहेका श्रीमान् जगतराम घर फर्किए । दुवै मिलेर खुकुरा पालन सुरु गरे । ‘तरकारी खेतीबाट राम्रो कमाइ भएपछि श्रीमान् घर आउनुभो । सँगै मिलेर तरकारीसँगै खुकुरा पालन गर्यौं,’ उनले भनिन्, ‘दुईतिरैबाट आम्दानी हुन थालेपछि खुसी छौँ ।’
पूर्वकम्लरी कल्पना थारू पनि तरकारीखेतीमा गर्दै आएकी छन् । पूर्वकम्लरी कृष्णा चौधरीले व्यावसायिक कुखुरा पालन गरेकी छन् । कुखुरा पालनबाट २० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन् । दोस्रो लटको खुकरा बिक्रीका लागि तयार भइसकेको छ ।
‘कुखुराबाट राम्रो आम्दानी हुने रहेछ । थोरै जग्गामा पनि गर्न सकिन्छ,’ कृष्णा भन्छिन्, ‘आर्थिक आर्जनका लागि नजानेर धेरै समय खेर गयो । ढिलै भए पनि आफ्नै व्यवसाय सुरु गरेका छौँ ।’ राजापुर क्षेत्रका करिब १ सय २० पूर्वकम्लरी र बुक्लरी महिलाहरू व्यावसायिक कृषि कर्ममा लागेका छन् । उनीहरू तरकारीखेती र कुखुरा, बंगुर, बाख्रा, भैंसी पालनमा लागेका छन् । उनीहरूले मासिक कम्तीमा पनि ३ हजारदेखि ५ हजारसम्म सहजै कमाउन सफल भएका छन् । कृषिबाट फाइदा हुन थालेपछि उनीहरू पुराना दिनहरू बिर्सिंदै गएका छन् । यहाँका पूर्व कम्लरी र बुक्रही महिलाहरूले विभिन्न समूह गठन गरी एक ढिक्का भएका छन् ।
(पत्रकार ठाकुर सिंह थारूसंगकाे सहमतीमा कान्तिपुरबाट साभार गरिएकाे हाे । यसकाे मूल कपी यहाँ छ । )