नेपालगन्जन्यूज/संवाददाता
राप्तीपारिका बासिन्दाको उत्साह विद्युतका विषयमा हराउन थालेकै बेला क्षेत्रीय विद्युत प्राधिकरण नेपालगन्जले एक वर्ष भित्रै राप्तीपारि विद्युत प्रशारणको तयारी गरेको जनाएको छ । राप्तीपारि बैजापुरका बासिन्दा हरिराम चौधरीले भने, विद्युत विस्तारका लागि स्थानीय स्तरको विकास बजेट कटौती भएको थियो । तर, पछिल्लो समयमा विद्युतको पोल जडान र सब स्टेशन निर्माण बाहेकको काम अघि नबढेकोले स्थानीयहरु निरास भएका हुन् ।
गत वर्ष जिल्ला प्रशासन कार्यालय बाँकेमा राप्तीपारिका युवाहरुको पहलमा बोलाइएको सर्वपक्षीय बैठकमा ठेकेदार र विद्युतका कर्मचारी मिलेर राप्तीपारिको विकास हलोझैं अड्काएको आरोप लगाएका थिए । ८० सरकारको र २० प्रतिशत जनताको रकममा २०६६ सालबाट विद्युत विस्तार कार्य थालिएकोमा दुई दुई वर्षका दरले ३ पटक ठेक्का अहवान भएको हो ।
ठेकेदारले केहि महिना देखि विद्युत प्राधिकरणले वातावरणीय प्रभाव मुल्याँक(इआइए) नगरेकोले तार विस्तार गर्न नसकिएको आरोपका विच बैशाख १५ भित्र त्यो कार्य सम्पन्न हुँदैछ, दैनिक नेपालगन्ज संग कुरा गर्दै क्षेत्रीय विद्युत प्राधिकरण नेपालगन्जका प्रमुख विनोद उपाध्यायले भने, ठेकेदार नेपाल सरकारको अधिकार प्राप्त प्रतिनिधी हो, हामीले त्यसैबाट काम लिनु पर्ने बाध्यता छ ।
राप्तीपारि क्षेत्रमा सबस्टेशनको भवन निर्माण कार्य पूरा भएको छ । कोहलपुर देखि राप्तीपारि सम्म विद्युत पोल जडान भएका छन् । तार विस्तार र सब स्टेसनमा मेसिन जडानको काम अघि बढ्न नसकेको पाइएको छ । जिल्ला प्रशासनको बैठकमा वातावरणीय प्रभाव मुल्याँकन नभएका कारण विद्युत विस्तार गर्न नसकिएको विषय उठेपछि प्राधिकरणले द्रुत गतिमा ठेकेदारले अडान लिन नमिल्ने हिसाबले काम अघि बढाएको जनाएको छ ।
‘अब ६ महिना भित्र तार तान्ने काम पूरा हुन्छ’, प्रमुख उपाध्यायले भने, ‘अधिकतम एक वर्ष भित्र राप्तीपारि विद्युत प्रशारण शुरु हुन्छ’, उनले भने, सबै समस्याहरु विस्तारै समाधान तर्फ केन्द्रित भएका छन् । एक महिना भित्र तार तान्ने काम सुरुवात हुन्छ उनले भने, वातावरणीय प्रभाव मुल्याकनको काम पूरा नभएकै कारण ५० प्रतिशत काम प्रभावित भइरहेको थियो । ‘आवश्यक सामाग्री खरीद गर्ने तयारी पनि भइरहेको छ’, उपाध्यायले भने, ‘तार सहितको विद्युतीय सामाग्री र उपकरणहरु केहि तयारी अवस्थामा पनि छन् ।’ उनले २ दिनमा करिब एक किलोमिटर तार तान्न सकिने र सो हिसाबले राप्तीपारि पूरै तार विस्तार गर्न करिब ९० दिन लाग्ने अनुमान गरे ।
कोहलपुरबाट धामपुर सम्म ३३ हजार केभी त्यहाँबाट ११ हजार केभी नरैनापुर सम्म प्रशारण गर्ने गरि तयारीमा काम हुन लागेको ८ वर्ष हुन लाग्यो । तीन पटक ठेक्का अहवान भयो । दर्जन पटक ज्ञापन र ध्यानाकर्षण पत्र बुझाइए, तर राप्तीपारि विद्युत पुगेन । विद्युत विस्तारका लागि सोनारी बघौडा ग्रामीण सामुदायिक विद्युतीकरण विकास मूल समिति गठन गरि स्थानीय स्तरबाट ३ करोड ३८ लाख ४७ हजार ८ सय ७७ रुपैया“ जम्मा भएको थियो ।
नेपाल सरकारको ८० प्रतिशत र समुदायको २० प्रतिशत लगानीमा राप्तीपारि ३३ हजार केभी विद्युत लाईन जडान गर्ने निर्णय भएपछि श्रीम उष्मा एण्ड जनरल प्रालिले विद्युत विस्तारको ठेक्का प्राप्त गरेको थियो ।
‘मुख्य काम त बन क्षेत्रले गर्दा अड्किएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रालिका प्रमुख राजेन्द्र मिश्रले भने, ‘वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्ट आउने तयारी भएको हो भने अब धेरै समय लाग्दैन ।’
‘तार सहितको विद्युतीय सामाग्री तयारी अवस्थामा छ’, मिश्रले भने, ‘विचमा वन क्षेत्र भएका कारण आधा तार तानेर पनि काम छैन ।’ ‘मैले विद्युत प्राधिकरण र विभागलाई पटक पटक वातावरणीय रिपोर्टका लागि निवेदन दिएको हुँ’, उनले भने, ‘रिपोर्ट वन मन्त्रालयमा पठाएपछि काम चाँडै हुने संकेतहरु देखा पर्छ ।’ ‘वर्षातको समयमा विद्युत विस्तारको काम हुन सक्दैन’, श्रीम उष्मा एण्ड जनरल प्रालिका प्रमुख मिश्रले भने, ‘सामान्य मौषममा करिब ४ महिनाको समय तार विस्तार र प्राविधिक प्रक्रिया पूरा गर्नमा खर्च हुन्छ ।’
राप्तीपारि क्षेत्रका ९ गाविसमा विद्युत सेवा पुर्याउने लक्ष्यका साथ सुरु भएको परियोजनाको एक चौथाई काम समेत नभएपछि अहिले परियोजना करिब ५१ करोड लागत अनुमानमा पुगेको छ । बैजापुर, नरैनापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया, विनौना, फत्तेपुर, गंगापुर क्षेत्रमा विद्युत विस्तारको प्रयास भएपनि आपेक्षा अनुसार काम हुन नसकेको सोनारी बघौडा ग्रामीण सामुदायिक विद्युतीकरण मूल समितिका सदस्य राम कुमार बर्माले बताए ।
‘ठेकेदारले विद्युत प्राधिकरणलाई र प्राधिकरणले ठेकेदारलाई आरोप प्रत्यारोप लगाउने बाहेक सन्तोषजनक काम भएको पाइएन’, बर्माले भने, ‘एक वर्ष भित्र राप्तीपारि विद्युत पुग्ने विषयमा विश्वास गर्ने आधारहरु अझै देखा परेका छैनन् ।’
गाउमा उज्यालो अभियान
बघौडा उज्यालो कार्यक्रम अन्तरगत राप्तीपारि क्षेत्रमा सोलार सेट वितरण अभियान अघि बढेपछि अचेल गाउँपनि उज्यालो हुन थालेका छन् । जिल्ला समन्वय समिति बाँकेले राप्तीपारी सञ्चालन गरेको बघौडा उज्यालो कार्यक्रम अन्तरगत तीन वटा गाबिसमा सोलार सेट वितरण गरिएको हो । निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा यस वर्ष पहिलो चरणमा राप्तीपारीका १ हजार ४ सय ५० घरमा २० वाटको सोलार सेट वितरण गरिएको हो ।
३ वटा बत्ति बल्ने सोलार सेटको बजार मूल्य १२ हजार २ सय रुपैयाँ रहेको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ । राप्तीपरिबासीले दुई हजार रुपैयाँ जम्मा गरेर २० वाट क्षमताको सोलार सेट प्राप्त गरेका हुन् । सोलारमा निर्वाचन क्षेत्र विकास कोष र जिसस बाँकेले अनुदान थपेका छन् । गंगापुरमा ४ सय ५०, लक्ष्मणपुरमा ६ सय ५० र कालाफाँटामा ४ सय घरधुरीलाई १ करोड ६२ लाख रुपैयाँ लागतमा सोलार सेट वितरण गरिएको जिससले जनाएको छ ।