वरिष्ठ श्रष्टा रेशम राज घिमिरे ‘विरही’ आजबाट ७० वर्षमा प्रवेश गरेका छन् । २००९ मंसिर १ गते हर्मी गोरखामा रेवतीरमण घिमिरे र अम्बिकादेवी घिमिरेका सन्तानका रुपमा जन्मिएका विरही आज आफ्नो ७० औं जन्मोत्सव मनाउन लागेका हुन् ।

आत्मबल र विश्वासलेनै क्यान्सर जितेका विरहीले अस्पतालको बेडमा बस्दानै ‘सातौं बादशाहको रातो कोर्ट’ कविता संग्रह तयार गरे । विरही भन्छन्, ‘अनवरत साधनाले मलाई बाँच्ने उर्जा दियो, दिन्छ ।’
‘मलाई मर्छु भन्ने लागेकै थिएन’, उनको त्यही आत्मबल र विश्वासलेनै १५ महिनामा क्यान्सर जितेर तंग्रीएका विरहीले मंगलवार दैनिक नेपालगन्जसँग भने, ‘बाँकी जीवन लेखनमैं समर्पित हुन्छ ।’ त्यसैले त अस्पतालको बेडमा बस्दानै ‘सातौं बादशाहको रातो कोर्ट’ कविता संग्रह तयार गरेका कवि विरहीले भने, ‘अनवरत साधनाले मलाई बाँच्ने उर्जा दियो, दिन्छ ।’
‘मंगली गुप्ताको पान’ कविता संग्रहबाट नेपालगन्जलाई प्रतिनिधित्वको झल्को दिइरहने विरहीको प्रयोगवादी कविताको संग्रहका रुपमा ख्याती पाएको ‘सातौं बादशाहको रातो कोर्ट’ ११ औं कृति हो । २०३५ सालमा मुलाको बोक्रा आलीमुनीको झ्याउँकीरी लेखेसँगै साहित्यमा जोडिएका विरही ४० वर्षदेखि निरन्तर पत्रकारितामा साधनारत छन् ।

विरहीको प्रयोगवादी कविताको संग्रहका रुपमा ख्याती पाएको ‘सातौं बादशाहको रातो कोर्ट’ ११ औं कृति हो
‘विभिन्न पत्रपत्रिका र अनलाइनमा लेखिरहेको छु,’ नेपालगन्जमा रहेर समानान्तर साप्ताहिक सञ्चालन गरेका उनले पत्रकारितामा योगदान दिने पुस्तक, पत्रकारिता आधारभूत शिक्षा पनि लेखेका छन् । वरिष्ठ पत्रकार विरहीले दैनिक नेपालगन्ज पत्रिका र नेपालगन्जन्यूज अनलाइनमा निरन्तर स्तम्भ लेखनको प्रतिबद्धता सहित ‘मनोरथ’ शुरु गरेपछि भने, ‘जहाँ गएपनि नेपालगन्जसँगको सानिध्यता सधैं रहिरह्यो ।’ दैनिक नेपालगन्जमा प्रत्येक विहीवार विरहीको विचार प्रकाशित भइरहेको छ ।

देब्रे आँखा, सत्ता र स्वप्न दोष निबन्धका बेजोड कृतिले नहौसिएका विरही छिट्टै प्रेम दासको डायरीबाट थालेको उपन्यास यात्रामा अर्काे कृति पस्किंदैछन् ।
प्रेमदासको डायरीबाट उपन्यासकारको पहिचान पनि बनाइसकेका वरिष्ठ साहित्यकार विरही अब दोस्रो उपन्यासको लेखनमा जुटेका छन् । ‘उपन्यास लेखनमा व्यस्त छु,’ यसैवर्ष अर्काे कृति दिन उद्यम उनले भने । शिक्षकले कक्षा ५ मा दिएको उपनाम ‘विरही’ ले परिचित श्रष्टा आफुभन्दा समाजका कथा व्यथालाई बुन्दै आएकाले पनि उनको लेखनलाई धेरैले रुचाएका पाइन्छ । वरिष्ठ लेखक, पत्रकार, कवि रेशम विरहीलाई ७० औं जन्मोत्सवको सुखद अवसरमा सुस्वास्थ्य र दीर्घायुको अशेष शुभकामना !
कवि रेशम विरहीको चर्चित कविता
मंगली गुप्ताको पान
सुनका ओठहरुको पर्दाबाट
मोतीका थोपा झरेजस्तै
हजुर कुन पान लिनुहुन्छ
मिठा पान कि तमाखु पान ?
मंगली गुप्त सोधिरहन्छे
मंगली गुप्त हासिरहंछे
आकाशमा मेघा गर्जिए पनि
धरती गरिवका नाममा
जुलुस र नाराले थर्किए पनि
उ आफ्नो मुक्तिको सम्भावना
यसैमा देख्छे
काला भैसकेका औलाहरु बाटामा चोब्दै
पानका बिडा बटारिरहंछे
मीठा पान कि तमाखु पान
मंगली गुप्ता सोधिरहन्छे
मंगली गुप्ता हासिरहन्छे
बर्षौ लामो बैधव्य
निराकार श्रममा डुबाएर
पवित्र प्रेमको शब्द चुम्बनले
समस्त सडकका यात्रुसग
तपाइँसग / मसग /सबैसबै जीवनसग
न्यानो आलिंगन ओछ्याएर
मुस्कानका लहरी लहरी
गुन्गुनाउछे सायरी –
“काली आखो मे कितनी
यौवन के मद् के लाली
मनिका मदिरा से भर दी
किसने नीलम कि प्याली “
नि:सन्देह परायण पोखिदिन्छे
मीठा पान कि तमाखु पान
मंगली गुप्ता सोधिरहन्छे
मंगली गुप्ता हासिरहन्छे
चिरापरेका कुर्कुच्चाहरुको आखाबाट
उ सर्वत्र नियालिरहन्छे
जीवनका हरेक देउरालीहरुमा
मन र तनको तादाम्य
विषम विषम भोग्दा भोग्दै
न उसले रुनुलाई अर्थ मानी
न उसले वेदनाको तात्पर्य खोजी
सडक किनारामा वैभवताको
हुरिबताससग सिगौरी खेल्दै
श्रमको पसिनाले नुहाएर चिटिक्क
प्रेम पस्किएर सरलताको
प्रेम पस्किएर तरलताको
वयको पहाड चढिरहन्छे
मंगली गुप्ता पान बटारिरहंछे
मीठा पान कि तमाखु पान
मंगली गुप्ता सोधिरहन्छे
मंगली गुप्ता हासिरहन्छे /