नेपालगन्जमा सुरु भो धान खरिद

कम्पनीमा परिणत भएको नेपाल खाद्य संस्थानले यसबर्ष नेपालगन्जको कार्यालय मार्फत ३५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेको छ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले धान खरिद सुरु गरेको छ । यस खाद्य संस्थानले धान खरिद गर्दै आएको थियो । व्यापार कम्पनीमा परिणत भएको संस्थानले यस बर्ष ३५ हजार क्वीन्टल नेपालगन्ज केन्द्रबाट खरिद गर्ने लक्ष्य राखेको कार्यालयका प्रमुख भरत राज खनियाले जानकारी दिएका छन् ।

कम्पनीले देशभर ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य निर्धारण भएको बताएका छन् । गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरीद गरेको थियो । पहिलो चरणको धान खरिद गरेपछि दोस्रो चरणमा थप धान खरिद गर्न सकिने कम्पनीले बताएको छ । ‘प्रारम्भिक चरणमा हामीले ३० हजार मेट्रिक टन धान खरीद गर्ने निर्णय गरेका छौँ’, खनालले भने, ‘उक्त धान खरीद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरीद गर्ने भनेर निर्णय गर्दछौँ ।’

कम्पनीले खरीद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थिरीकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ । यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ । मसिनो धानको मूल्य भने खरीद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्ने सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले बताएका छन् ।

नेपालगन्जमा भने मोटा र मध्यम धान मात्र खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका तुलसी उपाध्यायले जानकारी दिएकी छन् । ‘बुधबारदेखि धान खरिद सुरु गरेका छौं’, उनले भनिन्, ‘कृषकहरु धान बिक्रीका लागि आइरहनु भएको छ ।’ नेपालगन्जमा सरकारले समर्थन गरेको मूल्यमा नै कम्पनीले धान खरिद गरिरहेको उपाध्यायले जानकारी दिइन् । नेपाल खाद्य संस्थान भेरी अञ्चलले गत बर्ष गत बर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो ।

सरकारले यस बर्ष धानको समर्थित मूल्य समयमै तोकेको छ । तर, पनि केही किसानले धानको बिक्री गरिसकेको छन् । कृषक गंगा प्रसाद काँदुले सरकारले तोकेको धानको मूल्य भन्दा कममा केही किसानले बिक्री गरिसकेको बताए । ‘सरकारले समर्थन गरेको मूल्य उचित छ’, काँदुले भने ।

बिउ र फैजी किराले घट्यो धान उत्पादन

यस बर्ष बाँके, बर्दियाका किसानले फौजी किराको प्रकोपका कारण धान खेतीमा ठूलो नोक्सानी ब्यहोरेका छन् । कतिपय किसानले लगाएको धानबाली बिउका कारण उत्पादन नै भएन । कृषि ज्ञान केन्द्र बाँकेले फौजी किरा र धानको बिउका कारण १५ प्रतिशतसम्म धान उत्पादनमा कमी आउन सक्ने आंकलन गरेको छ ।

यस बर्ष समय मै बर्षात भएका कारण बाँके र बर्दियाका किसानहरुले लगाएको धान खेती राम्रै हुने आशा गरिएको थियो । कतै भारतीय कम्पनीले उत्पादन गरेको गरिमा धानको बिउले किसानहरुलाई धोका दियो भने धेरै बर्षको अन्तराल पछि आएको फौजी किराको प्रकोपले किसानहरुले भित्र्याउनै लागेकोे धान नोक्सान भयो ।

किसानहरुले जसोतसो उत्पादन गरेको धानवाली फौजी किराले नोक्सान पु¥याएको पिडा एकातर्फ छ भने अर्कोतर्फ गरिमा जातको धानको बिउ ल्याएर खेती गरेका किसानहरुको धान नफले पछि बर्ष दिन खाना कसरी पु¥याउने चिन्तामा छन् किसान । खजुरा —३ बाँकेका किसान नानीबहादुर बुढाथोकीले गत बर्ष सम्म गरिमा धान राम्रो फलेको भएपनि यसपाली धानको बाला नलागेर धोका दिएको बताए । उनले धानको बालामा दाना नलागेपछि सम्बन्धित निकायले जाँचबुझ नगर्दा सम्म धान नकाट्न सुझाब आएको र सम्बन्धित निकाय पनि नआएका कारण अन्यौलमा परेको बताए ।

किसान बुढाथोकीले क्षतिपूर्ति नपाइने भएकाले हाल सम्म धान काट्न नपाउदा अर्को खेती तोरी, चना, मसुरो जस्ता बाली लगाउन नपाएको गुनासो ब्यक्त गरे । यो बर्ष आफ्नो भए जतिको १२÷१५ कठ्ठा जमिनमा गरिमा जातको धान लगाएकोमा नफले पछि न्वागी खाने धान नभएको बुढाथोकीले दुःख ब्यक्त गरे ।

नानीबहादुर जस्ता धेरै किसान जसले यसपाली गरिमा रोपेका थिए सबैको त्यही हालत छ । वर्षे खेती धान बिग्रिए पनि हिउँदे खेती समयमा लगाउन पाए राहत हुने भए पनि सम्बन्धित निकायले धान फले नफलेको समयमा अनुगमन नगरेका कारण बाला नलागेको धान बारीमा हेरेर बस्नु पर्ने अवस्था आएको किसान पशुपति बुढाथोकी बताउँछन् । उनले सम्बद्ध निकायले किसानको मर्म र भावना बुझेर यथाशीघ्र अनुगमन गरेर क्षतिपूर्ति व्यवस्था गर्नुका साथै किसानलाई अगाडि हिउँदे खेतीका लागि बोटो खोली दिन आग्रह गरे ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले धान फल्ने समयमा फौजी किरा, बिउका कारण बाला नलाग्ने र बाला लागे पनि दाना नलागेको समस्या पाइएको बताए । उनले धान बालीमा देखिएको समस्याबारे कृषकलाई फिल्डमा पुगेर विभिन्न खालका सुझाव दिएको बताए । ‘गरिमा धानका कारण बाला नलाग्ने समस्या बर्दिया र फौजी किराको प्रकोप बाँकेमा बढी देखिएको छ’, ज्ञान केन्द्रका प्रमुख ढकालले भने, ‘किसानले ब्यहोरेका क्षतिको विवरण संकलन गरी आवश्यक निर्णयका लागि प्रदेश र केन्द्रमा पठाउने छौं ।’ स्थानीय तहको समन्वयमा घरधुरी स्तरको सर्भेक्षण गरेर तथ्यांक लिने काम भैरहेको छ ।

गरिमा धानको बिउका कारण देशव्यापी समस्या भएको छ । गरिमा धानका सम्बन्धमा क्षतिपूूर्तिका लागि सरकारले निर्णय गरिसकेको उल्लेख गर्दै ज्ञान केन्द्र प्रमुख ढकालले त्यसको विवरण संकलन र प्रमाणितका लागि केन्द्रबाट समेत टोली आएको जानकारी दिएका छन् ।

यस बर्ष बर्दियामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रमा धान खेती भएको थियो भने बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो । ‘बाँके, बर्दियामा समयमै रोपाइ भएको थियो’, ज्ञान केन्द्र प्रमुख ढकालले भने, ‘तर, उत्पादन भने घट्ने संकेत देखिन्छ ।’ धान खेतीमा देखिएको समस्याका कारण बर्दियामा ५ देखि ७ प्रतिशत सम्मे, बाँकेमा १० देखि १५ प्रतिशतसम्म धान खेती कम हुने आंकलन गरिएको केन्द्र प्रमुख ढकालले बताएका छन् । ‘तर, फौजी किराको आक्रमण भएको धान खेतीमा ४० देखि ६० प्रतिशतसम्म क्षति भएको देखिएको छ’, उनले भने, ‘कतै शत प्रतिशत पनि नोक्सान भएको पाइन्छ ।’ धान कटानी भैरहेकाले पूर्ण विवरण केही समयमा आउने ढकालले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया