बागेश्वरी सम्पत्ति खोज्न आएको आयोगको टोली फर्कियो
नेपालगन्ज – बागेश्वरी मन्दिरको सम्पत्ति खोजबिनका क्रममा १ सय ४० बर्ष पुराना निर्णयहरु फेला परेका छन् । यद्यपि, १९३६ सालदेखि सनद (निर्णय) फेला परेको हो । बागेश्वरीको सम्पत्ति खोज्न बाँके आएको सरकारी टोलीले खोजबिनका क्रममा जग्गा सम्बन्धि पुराना दस्तावेजहरु फेला पारेको हो ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाचबुझ आयोगको टोलीले नेपालगन्जमा रहँदा बागेश्वरी गुठी व्यवस्थापन समिति र नागरिक समाजका अगुवाहरुलाई भेटेर बागेश्वरी मन्दिरको सम्पत्तिका बारेमा छलफल गरेको थियो । त्यसक्रममा शुक्रबार पत्रकारहरुसँग आयोगले छलफल गर्यो ।
आयोगका सदस्य जगतबहादुर देउजा र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सहितको टोलीले बाँकेका सञ्चारकर्मी तथा रैतीका सन्तानहरुलाई भेटेर बागेश्वरी मन्दिरको जग्गाका बारेमा जानकारी लिएको छ । टोलीले मन्दिरको नाममा सहेको सम्पत्तिको विवरणहरु खोजबिन गर्नुका साथै मन्दिरको जग्गा के कसरी रैतीका सन्तान तथा महन्तका नाममा दर्ता भयो भन्ने बिबरण खोजबिन गरि रहेको गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेलले बताए ।
आयोगले मन्दिरका महन्त, मालापोत तथा भुमिसुधार कार्यालयका कर्मचारी, नागरिक समाजका अगुवा संचारकर्मी तथा रैतीका सन्तानहरुलाई भेटेर खोजबिन सुरु गरेको छ । मन्दिरका अधिकाश कागजजत्रहरु फेला परे पनि २०२७÷२८ सालको कागजपत्रहरु भने अझै फेला नपरेको आयोगका सदस्य जगत देउजाले बताए ।
मन्दिरको नाममा रहेको जग्गालाई रैकरमा परिवर्तन गरी ब्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परे पछि नागरिक समाजका अगुवाहरुले मन्दिरको जग्गा लगायतका श्री सम्पत्तीहरु खोजबिन गरी संरक्षण गर्न माग गर्दै आएका छन् ।
मालपोत कार्यालयमा १९३६, १९५१, १९६६, १९७१, १९७८, २००४, २०५७ सालमा गरिएका जग्गा सम्बन्धी निर्णय फेला परेका हुन् । बागेश्वरीको मन्दिरको जग्गा २०२७, २०२८ सालमा पनि व्यक्तिको नाममा गएको थियो । तर, उक्त निर्णयहरु भने फेला परेका छैनन् । लालपुर्जाको कैफियतमा भने वि.सं. २०२७÷२०२८ सालको निर्णय भन्ने भेटिन्छ ।