बागेश्वरी मन्दिरलाई राष्ट्रिय धरोहर बनाऊँ


प्रसिद्ध शक्तिपीठ, बागेश्वरी मन्दिरलाई राष्ट्रिय सम्पदाको धरोहरका रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराइने भएको छ । बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले त्यसका लागि आवश्यक पहल लिने प्रतिबद्धता जनाएका हुन् ।
बुधबार विकासका लागि नागरिक सरोकार समिति बाँकेले आयोजना गरेको ‘सांसद सँगको संवाद’मा सहभागी सांसदहरुले बागेश्वरी मन्दिरको बृहत्तर विकासका लागि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताएका हुन् ।
‘राष्ट्रिय पहिचान, परिचय र महत्वको धरोहरका रुपमा बागेश्वरीको दीर्घकालीन विकास गर्नुपर्छ’, संसदीय समितिका सभापति समेत रहेकी प्रतिनिधिसभा सदस्य पूर्ण कुमारी सुवेदीले सांसद संवादमा भनिन्, ‘त्यसका लागि बृहत्तर गुरुयोजना बनाएर अगाडि बढ्नु पर्छ ।’ बागेश्वरीको विकासलाई लिएर भैरहेका पछिल्ला बहसलाई बागेश्वरी गुठीले सकारात्मक रुपमा लिन सुझाव दिंदै पूर्व उपसभामुख समेत रहेकी सांसद सुवेदीले भनिन्, ‘तर, अनावश्यक इगो र विवादको सिर्जना नगरौं ।’ उनले बागेश्वरीको बृहत्तर विकासका लागि केन्द्र सरकारसँग कुरा राख्ने प्रतिबद्धता जनाइन् ।


बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले जिल्लाकै महत्वपूर्ण गन्तव्य समेत रहेको आस्थाको केन्द्र बागेश्वरीलाई व्यापारिक परियोजनका संरचनाहरु बनाएर कुरुप नबनाउन सुझाव लिए । ‘नेपालगन्जको विकासका लागि बागेश्वरीको बृहत्तर आयोजना एउटा अवसर हुनसक्छ’, सांसद गहतराजले भने, ‘मैले यसबारे गुठीका अध्यक्ष डा. धवल समशेर राणासँग विगत एक बर्षदेखि छलफल गरिरहेको छु ।’ उनले बाँकेमा बागेश्वरीदेखि कर्मशाबाबा कम्दी, बर्फानी बाबा नरैनापुर, भुँवरभवानी बैजापुर, मानसरोबार स्मारक पार्क बैजनाथ हुँदै नेपालगन्जसम्मका परम्परागत धार्मिक महत्वका केन्द्रहरुलाई धार्मिक पर्यटकीय कोरिडोरका रुपमा विकास गर्न चाहेको पनि बताए ।
प्रदेशसभा सदस्य कृष्णा केसीले केन्द्र तथा प्रदेश सरकारले नेपालगन्जलाई पर्यटकीय दृष्टिले विकास गर्ने प्रस्ताव सुनुवाई नगरेको गुनासो गरिन् । ‘धार्मिक पर्यटकीय केन्द्रका रुपमा मुलुककै आकर्षक गन्तव्य बन्न सक्ने बागेश्वरीको वेवास्ताबारे हामी गम्भीर छौं’, प्रदेशसभा सदस्य केसीले भनिन्, ‘यसबारे फेरि पनि दुवै सरकारसँग कुरा गर्नेछौं ।’ प्रदेशसभा सदस्य मो. याकुव अन्सारीले बागेश्वरीको दीर्घकालीन विकासका लागि अघि सारिएको बागेश्वरी विकास कोषको प्रस्तावलाई सरकारले स्वीकार गर्नुपर्ने बताए । ‘जानकी विकास कोष हुनसक्छ, लुम्बिनी विकास कोष हुनसक्छ भने बागेश्वरी विकास कोष किन हुन सक्दैन ?’, सांसद अन्सारीले भने, ‘सरकारले तत्काल यसबारे काम अगाडि बढाउनु पर्छ ।’


विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डा. राजकुमार सुवेदी र अधिवक्ता लोक बहादुर शाहले बागेश्वरी मन्दिरका विविध पक्षबारे प्रकाश पारेका थिए । ‘अबको छलफल बागेश्वरी गुठी र नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारीसँग हुनेछ’, संयोजक श्रेष्ठले जिल्लाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने बागेश्वरीको सवाललाई नागरिक स्तरबाट गम्भीरतापूर्वक लिइएको जानकारी दिंदै भने ।
पत्रकार झलक गैरेले सहजीकरण गरेको सांसद संवादमा नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्ता, इतिहासका अध्येता वरिष्ठ स्रष्टा सनत रेग्मी, अधिवक्ता इश्वरी ज्ञवाली, मो. अय्युव सिद्दिकी, डा. विनोद कर्ण, मब क्याम्पस प्रमुख गणेश रेग्मी, उच्च अदालत बार अध्यक्ष विकास आचार्य, पत्रकार रुद्र सुवेदी लगायतले बोलेका थिए । उनीहरुले बागेश्वरीको बृहत गुरुयोजना निर्माण नहुञ्जेल कुनै किसिमका स्थायी संरचना निर्माण नगर्न गुठीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया