मनाइयो बाघ दिवस : बाघको संख्या दोब्बर पुग्दै

नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको हो

नेपालगन्ज : वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमवार बाघ पाइने स्थान, बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गरिएको हो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । सोमवार बाघ दिवसमै गरिएको कार्यक्रममा बाँके र बर्दियामा बाघको सख्या उल्लेख्य रुपमा बढेको जानकारी दिइयो । बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कले बाँके र बर्दियामा बाघको सख्या बढ्दै गएको देखाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान, पानी र वासस्थानको उचित व्यवस्थापनले पछिल्ला वर्षहरूमा बाघको संख्या बढ्दै गएको बताए । सन् २०१४ सम्म ५० वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा हाल सो सँख्या बढेर ८७ पुगेको छ । त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा पनि सन् २०१३ मा चारवटा मात्र बाघ रहेकामा पछिल्लो समय २१ वटा बाघ गणना गरिएको निकुञ्जले जनाएको छ ।

बाघका लागि आहारा, बस्ने ठाउँको व्यवस्थापनसँगै पानीको पर्याप्तताका कारण बाघको संख्यामा उल्लेख्य वृद्धि भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । उनका अनुसार, यसअघि निकुञ्जमा वन्यजन्तुका लागि सबैभन्दा बढी खानेपानीको समस्या थियो ।

संख्यात्मक रुपमा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ९३ वटा बाघ रहेपनि वृद्धि दरमा बाँके र बर्दिया अगाडि देखिएका छन । चितवनमा यसअघि बाघको संख्या एक सय २० रहेकोमा सन् २०१८ को गणनामा संख्या घटेर ९३ मा झरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालको भनाइ छ ।

सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार, नेपालमा बाघको संख्या दुई सय ३५ रहेको छ । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको सम्बद्ध अधिकारी बताउँछन् ।

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको संख्या २३५ पगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको संख्या सन् १९९५ मा ९, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९ रहेको विभागको तथ्याङ्क छ ।
सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको संख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्ग किमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।
मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया