महानगर गाथा

हलचोकस्थित सशस्त्र प्रहरी बल(एपीएफ)को मुख्यालय पुग्दा सबैभन्दा पहिले मेरा आँखा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक(आइजीपी) शैलेन्द्रकुमार श्रेष्ठको कार्यकक्षमा झुन्डाइएको पुरानो प्रमाणपत्रले तान्यो । आईजीपीको उच्च प्राथमिकतामा रहेको प्रमाणपत्रमा मेरा आँखा जानु स्वभाविक थियो । तसर्थ त्यो बिशेष थियो ।
वि.सं. २०३७ साल उल्लेख गरिएको उक्त प्रमाणपत्रले सायद खेलकुदमा अभिरुची राख्ने जोकोहीका लागि ध्यानाकृष्ट गर्दथ्यो । जुन स्वभाविक हो । त्यति पुरानो प्रमाणपत्र सुरक्षित राख्नु पनि भावी पुस्ताका लागि प्रेरणा हो । किनकी धेरै अगाडि राणाकालीन समयमा भित्रिएर पनि दरबारमा सिमित क्रिकेट ६० बर्षपछि २०३७ सालमा मात्र देशव्यापी बनेको हो । अर्थात यसको अर्थ क्रिकेटसँग नेपालगन्ज सुरुदेखि नै जोडिएको रहेछ भन्ने बुझ्न सकिन्छ । क्रिकेटमा पहिलो पुस्ताको खेलाडी हुनुमा शैलेन्द्र दाइ साँच्चिकै गर्व गर्दा रहेछन् । उनी मात्र हैन, ओलम्पियन सुरेन्द्र हमाल(भारोत्तोलन), राष्ट्रिय खेलकुद परिषदका निर्देशक जयन्त कुमार शर्मा(ह्याण्डबल) लगायत तमाम नेपालगन्जका अग्रज खेलकर्मीले सुरुवाती दिनमा क्रिकेट खेलेका थिए । त्यो पनि राष्ट्रिय स्तरकै क्रिकेट । प्रदेश सभा सदस्य सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनमा सुरुवाती दिनको क्रिकेटका बारेमा चर्चा गरेको पाइन्छ । तसर्थ भन्न सकिन्छ, अब्बल मानिएका हरेक नेपालगन्जीयाले कहीं न कहीं क्रिकेटसँग नाता जोडेका रहेछन् । सिमावर्ती सहर हुनुका नाताले पनि नेपालगन्जमा क्रिकेटको प्रभाव चाँडै फैलियो । गल्ली गल्लीमा क्रिकेट पुग्यो । यहाँको माटो सुहाँउदो खेलका रुपमा क्रिकेट चाँडै स्थापित भयो ।


करिब चार दशकको विरासत बोकेको नेपालगन्जको क्रिकेट यतिबेला कुहिरोको काग बनिरहेको छ । बाटो बिराएको छ । क्रिकेटप्रति गौरव गर्ने पुस्ता एकातिर छ । नयाँ पुस्ता नेपालगन्जको क्रिकेटसँग नाता तोड्ने भनिरहेको छ । नाता तोड्नु रहर हैन, उनीहरु बाध्यता भनिरहेका छन् । करिब चार दर्जन मुलधारका क्रिकेटर आन्दोलित छन् । साविक मध्यपश्चिमको कप्तान सुवेन्दु पाण्डे, उपकप्तान सिद्धान्तराज शाहीलगायत उम्दा क्रिकेटर असन्तुष्टि जाहेर गरिरहेका छन् । उनीहरु भनिरहेका छन्–‘कि क्रिकेट खेलाउ, नत्र हामीलाई छाडिदेउ ।’ छाडिदेउ भन्नुको अर्थ उनीहरु यो जिल्लाको नामबाट खेल्न चाहदैनन् । गृहजिल्लाप्रतिउनीहरुमा वितृष्णा जागेको छ । यसको एउटै कारण हो– उनीहरु नियमित अभ्यास गर्न चाहन्छन्, खेल्न चाहन्छन् । उनीहरुको रगतमा क्रिकेट उम्लिएको छ ।

 
खेल्न पाउनु खेलाडीको नैसर्गिक अधिकार हो । खेल्न पाउने अधिकारका लागि मैदानमा उत्रनु खेलाडीको जागरुकता पनि हो । यसरी खेल्न पाउने वातावरणको सुनिश्चिता खोज्नु नै खेलाडीमा सचेतना बढेको मान्नुपर्दछ ।
खेलाडी आन्दोलित हुनुको मनोविज्ञान बुझ्न यतिबेला कोही तयार छैन । सबैलाई लागेको होला यो लहडको निर्णय हो । यद्यपी सरोकारवालामा यस्तो लाग्यो भने यो भन्दा घातक केही हुनेछैन । किशोरवयका खेलाडीको अन्तिम निर्णय जस्तोसुकै हुनसक्छ । बेलैमा सम्बोधन गर्न सके बुद्धिमत्ता देखिनेछ । किनकी नेपाली खेलकुदको नियमन निकायसामु ध्यानाकर्षण गराउने क्रममा नेपाली यु १९ राष्ट्रिय टोलीबाट खेलिसकेका आकाश बिष्टले क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्षको कार्यकक्षमा सुनाए–‘घरबाट दवाव आइरहेको छ–कि क्रिकेट खेल, कि विदेश जा ।’ उनले भने–‘अब म के गरुँ? क्रिकेट कहाँ खेलुँ, अध्यास कहाँ गरौं, तीन बर्षदेखि प्रतियोगिता छैन । अन्यथा विदेश जाने बाध्यता भइसक्यो ।’ उनीहरुले स्थानीय सरकारसामु आफ्ना माग राख्न पुगेको पनि जानकारी गराए । नेपालगन्ज उपमहानगरपालिका प्रमुखले आफुहरुका माग र समस्या सुन्नै नचाहेको गुनासो पनि उनीहरुले गरे ।


खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद वा मातहतको क्षेत्रीय खेलकुद विकास समिति भएपनि स्थानीय तह पनि गम्भीर बन्नुपथ्र्यो, पर्छ । किनकी खेलकुदमा उसले पनि लगानी बढाइरहेको छ । समस्याको जड पहिचान गर्न र समाधानतर्फ पाइला चाल्न स्थानीय तह अब जिम्मेवार बन्नैपर्छ । स्थानीय सरकार हिजोको जस्तो स्थानीय निकाय हैन, स्वायत्त स्थानीय तह हो । नेपालगन्जको क्रिकेटसँग मात्र हैन, समग्र खेलकुदसँग उपमहानगरपालिकाको प्रतिष्ठा जोडिएको हुन्छ । सरोकारवालालाई सच्चिनका लागि पालिकाले पनि पहलकदमी लिनैपर्छ । संसारमा हरेक सहर खेलकुदका कारण चिनिएका तमाम उदाहरण छन् । स्पेनको एउटा फुटबल क्लब बार्सिलोनाको नामले त्यो शहर विश्वभर चिनिन्छ । बार्सिलोना शहर हो की फुटबल क्लबको नाम हो कतिलाई जानकारी नहुन सक्छ ।

 


वेलायतका म्यानचेस्टर युनाइटेड, लिभरपुल, इटालीको एसी मिलान, इन्टर मिलान, एएस रोमा, पोर्चुगलको एफसी पोर्टो, स्कटल्यान्डको सेल्टिकलगायतका क्लबहरुले विश्वभर छरिएर बसेका भुगोलको राम्रो जानकारी नभएकालाई पनि आफ्नो शहरको चिनारी दिइरहेका छन् । खेलकुद वास्तवमा कुनै पनि समाजको विकास र संवृद्धिको ऐना हो । समाज कत्तिको विकसित छ, कति सभ्य छ । आर्थिक रुपमा कति संमृद्ध छ । शिक्षाको अवस्था के छ ? लगायतका विषय आधुनिक समाजले खेलकुदमार्फत देखाउने गरेको छ । तसर्थ क्रिकेटमा जागरुक खेलाडीका मागप्रति सरोकारवाला गम्भीर हुन सके समृद्ध नेपालगन्जको सपना साकार पार्ने हामी सबैको साझा सपना पुरा हुनेछ । खेलाडी साझा गहना हुन्, खेलकुद साझा मञ्च हो । कुनै जात, धर्म, भाषा र सम्प्रदायभन्दा माथि रहने कुनै विधा छ भने त्यो खेलकुद नै हो । खेलकुदले देश जोड्छ, समाज जोड्छ । अझ क्रिकेटले त खासमा देश जोडेको छ । भौगोलिक, जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको नेपालको राष्ट्रिय टिम हेर्दा लाग्छ, त्यहाँ समग्र नेपाल छ । पारस खड्कादेखि ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, करण केसी, दिपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, विनोद भण्डारी, सुभाष खकुरेल, अविनास बोहरा छन् । उता शरद भेषावकर, पवन शर्राफ, सन्दीप जोहरादेखि आरिफ शेषसम्म, सोमपाल कामीदेखि भिम सार्की, सागर पुनदेखि बसन्त रेग्मी वर्तमान राष्ट्रिय टिममा छन् । मुस्लिम, मधेसी, दलित, जनजाति, ब्राह्मण सबैको समिश्रण क्रिकेट टिममा छ । यसले जातीय, धार्मिक र साम्प्रदायिक विविधता जोडेको छ ।


यता समग्र नेपाल देश बोक्ने सहरका रुपमा नेपालगन्ज चिनिन्छ । नेपालगन्ज पनि जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको ऐतिहासिक सहर हो । नेपालकै पुरानामध्येको सहर । जुन महानगरको यात्रामा उन्मुख छ । आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भइरहेका अत्याधुनिक भौतिक पुर्वाधार संरचना नै अब नेपालगन्जलाई चलायमान गराउन सक्ने आधारका रुपमा देखिएको छ । तसर्थ पनि नेपालगन्जको महानगर यात्राको सहयात्री खेलकुद बन्न सक्ने धेरै आधारशीला तयार भइसकेको छ । प्रादेशिक राजधानी जहाँसुकै होस्, खेलकुदको राजधानी नेपालगन्ज बन्ने प्रयाप्त आधार बनिसकेका छन् । खेलकुदले नै अब नेपालगन्जसँग कोहलपुर र खजुरालाई जोड्दैछ । नेपालगन्जको सहयोग र सहकार्यबिना कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान वा खजुरास्थित शुक्र भलिबल स्टेडियमले अपेक्षित गति समात्न सक्नेमा शंका गर्नुपर्ने ठाउँ धेरै छ । किनकी भलिबल र क्रिकेटको विरासत नेपालगन्जसँग जोडिएको छ । कुनै बेला नेपाली राष्ट्रिय टिममा अब्बल भलिबल खेलाडीको पहिचान बनाएका दीपक सापकोटा, तीर्थमान श्रेष्ठ, राकेश श्रीवास्तव र राजुराज शाहीको विरासत नेपालगन्जसँग छ ।


उता माथि उल्लेख गरिसकेको छु, नेपालगन्जीया क्रिकेटको कथा । हरेक कालखण्डमा नेपालगन्जको क्रिकेटले आम नेपालगन्जीयामा गौरवबोध गराउँदै आएको छ । नेपालले पहिलो पटक अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिंदा एलबी क्षेत्री र गणेश शाहीको पहिचान नेपालगन्जीया थियो । नेपाली राष्ट्रिय टिमको कप्तानी गरिरहँदा एलबी र गणेशको चिनारी नेपालगन्जीया नै हो । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा राम्रोसँग सुनिने नाम नेपालगन्ज नै हो । महिला क्रिकेट सुरु गर्दा होस वा राष्ट्रिय टिममा एकैपटक सात सात जना क्षेत्र नं. ५ टिमका खेलाडी छनोट हुदा पनि नेपालगन्ज चर्चाको केन्द्रमा रह्यो । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानले समेत नेपालगन्जकै शीर उँचो बनाइदिएको छ । एमी मैदान त नेपालगन्जको लर्डस् नै हो । यद्यपी अब यो एउटा मात्र मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता सञ्चालनका लागि अपुग मानिन्छ । कम्तीमा दुई वटा स्तरीय मैदान आवश्यक हुन्छ । त्यसका लागि नेपालगन्जले एउटा स्तरीय क्रिकेट मैदान निर्माण गर्न अत्यावश्यक भइसकेको छ । कोहलपुर नगरविकास समितिले क्रिकेट मैदानका लागि जग्गा दिएको करिब डेढ दशकसम्म पनि नेपालगन्जमा जमिन नभेटिनु अर्को दुर्भाग्य हो । यसमा क्रिकेट नेतृत्व कति गम्भीर बन्यो, इतिहासले समिक्षा गर्ने नै छ । एकैपटक सात जनासम्म राष्ट्रिय टिममा देखिने नेपालगन्जीया अनुहार अब खुम्चिएर नेरी थापामै सिमित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो कप्तान नेरीलाई नै उत्साहित गर्नुको साटो हतोत्साही गर्नेहरुका बिषयमा पनि समिक्षा गर्ने बेला अब आइसकेको छ । सच्चा क्रिकेटरलाई पाखा लगाइ पदलिप्सामा रमाउने रोग नेपालगन्जको क्रिकेटमा भित्रिएको छ । यो नै बिडम्वना हो ।


नेपाली क्रिकेटका जिउँदो इतिहास विनयराज पाण्डेले एक भेटमा सुनाएका छन्–‘नेपाली क्रिकेट ध्वस्त बनाउन एउटा गिरोह केही बर्षअघिदेखि सक्रिय थियो, दलगत राजनीतिमा कहीं न कहीं जोडिएका ती व्यक्तिहरुको गिराहले नेपालको क्रिकेटमा मोजमस्ती गर्ने सपना मात्र देख्यो । काम, कर्तव्य जिम्मेवारी सबै बिर्सियो, परिणाम नेपाली क्रिकेटले भोग्दैछ ।’ पाण्डेकै भनाइ मान्ने हो भने अब ट्रयाकमा ल्याउन धेरै मेहनत जरुरी छ ।
हो, एकै समय सात जनासम्म नेपालगन्जीया क्रिकेटर राष्ट्रिय टोलीमा पुराउन प्रशिक्षक दिपेन्द्रप्रताप सिंह र जमिल अन्सारीको वर्कतले भ्याउँदैन । परम्परागत सोंचका क्रिकेटप्रेमीले पनि समयसापेक्ष कार्यक्रम ल्याउलान् भन्नेमा मलाई शंका छ । मिसन र भिजन बिनाको कार्यक्रमले सार्थक परिणाम ल्याउन सक्दैन । अहिलेसम्मको कार्यमुल्यांकन गर्दा क्रिकेटको नेतृत्व साँच्चिकै बिश्वास गुमाउन पुगेकै रहेछ । खेलाडीले मेयर कप सम्बन्धि पत्रकार सम्मेलनमा भने–‘तपाईहरुप्रति कत्ति बिश्वास छैन ।’ परिवारमा अभिभावक र सन्तानबीच बिश्वासको खाडल गहिरिदै जानु चिन्ताकै बिषय हो ।

 
तसर्थ पनि यहाँको क्रिकेटकर्मीको सोंचमा परिवर्तन आउन जरुरी छ । गैरक्रिकेटरको बहिर्गमन पनि त्यत्तिकै जरुरी छ । अध्ययन नै नगरी लहडमा लाग्ने क्रिकेट सदस्यहरुका कारण क्रिकेटको गति उँधो लागेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको भर्खरै मात्र प्रकाशित आत्मकथा कप्तान १९९८ मा उनले गैर क्रिकेटरको प्रवेशले क्रिकेटमा दुरावस्था आएको उल्लेख गरेका छन् । पुर्व कप्तानका मर्म, भावना र विचारलाई कदर नगर्ने र आत्मसात नगर्ने संसारमै क्रिकेट परिवारको सदस्य हुनै सक्दैन । क्रिकेटरले नै हो क्रिकेटरको सम्मान गर्ने । छिमेकी भारतलगायत क्रिकेटको संस्कार भएका मुलुकको उदाहरण हेर्ने हो भने क्रिकेटको विरासतलाई हरेक पिढींले पछ्याएको पाइन्छ । तसर्थ भन्न सकिन्छ, नेपालगन्जको क्रिकेट विरासतले धानेको हो । चेतना भया ।

प्रतिक्रिया

प्रतिक्रिया