विल्डिङ्ग र भुकम्प सुरक्षा सम्बन्धी अन्तरक्रिया
अव्यवस्थित सहरीकरण र बस्ती विकास भुकम्पीय क्षति बढ्नुको कारक बन्ने गरेको इन्जिनियरहरुले बताएका छन् । बुधबार नेपालगन्जमा नेपाल इन्जिनियर्स एशोसिएसन नेपालगन्ज केन्द्र र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको विल्डिङ्ग र भुकम्प सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा इन्जिनियरहरुले अव्यवस्थित बस्ती विकासले भुकम्पीय सुरक्षामा चुनौति थपेको बताएका हुन् ।
‘भुकम्पको जोखिमको अनुमान नगरी सहरीकरण, बस्ती विकास भैरहेका छन्’, कार्यक्रममा चिन्ता व्यक्त गर्दै इन्जिनियरहरुले भने, ‘यसले भविष्यमा ठूलो चुनौति निम्त्याउन सक्छ ।’ ‘भुकम्पलाई रोक्न सकिंदैन’, इन्जिनियरहरुले भने, ‘दशकौं पुराना घर, बस्तीका बनेका कमजोर भौतिक संरचनाहरुले भुकम्प आएमा धेरै जनधनको क्षति पुर्याउँछ ।’
इन्जिनियर शोभाराम भट्टराईले भुकम्प रोक्न नसकिने भएकाले त्यसबाट क्षति नहोस् भनेर प्रतिरोधी संरचना निर्माणको विकल्प नभएको धारणा राखे । ‘व्यवस्थित बस्ती तथा सहरीकरण, भुकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण गर्ने हो भने भुकम्प आएपनि त्यसबाट हुने क्षति कम गर्न सकिन्छ’, इन्जिनियर भट्टराईले भने । उनले बढ्दो सहरीकरणलाई मध्यनजर सरकारी स्तरबाट नै ल्याण्ड पुलिङ्ग र व्यवस्थित बस्ती विकास गरिनु पर्ने धारणा राखे । ‘मुलुक संघीयतामा गएपछि स्थानीय तहमा धेरै अधिकारहरु छन्’, भट्टराइले भने, ‘व्यवस्थित बस्ती विकासका लागि जनप्रतिनिधि अग्रसर हुनुपर्छ ।’ उनले स्थानीय तहले अग्रसरता देखाएमात्र भवन संहिता लागु हुन सक्ने धारणा राखे ।
नेपाल इन्जिनियर्स एशोसिएसन नेपालगन्ज केन्द्रका अध्यक्ष ओम प्रकाश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै इन्जिनियर भट्टराईले भवनका लागि नक्सा बनाउने तर निर्माण भने नक्सा अनुसार नगर्ने प्रवृत्ति रहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले भुकम्पबारे जनचेतना जगाउन आवश्यक रहेका उल्लेख गर्दै निर्माण संलग्न प्राविधिकहरुलाई निरन्तर तालिमको आयोजना गरी दक्ष बनाइनु पर्ने बताए । इन्जिनियर भट्टराईले भविष्यमा पछुताउनु भन्दा वर्तमानमा सजग हुनुपर्ने धारणा राखे ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नयाँ संरचना नयाँ मापदण्ड अनुसार बन्ने भएपनि दशकौं पुराना बस्ती तथा भवन भुकम्पीय जोखिमका दृष्टिकोणले चुनौतिपूर्ण रहेको बताइन् । उनले इन्जिनियरहरुलाई डिजाइन बनाउँदा नगरको मापदण्ड पालना गर्न आग्रह गरिन् । ‘भुकम्प प्रतिरोधी संरचना बनाउनमा प्राविधिकहरुको भूमिका महत्वपूर्ण हुन्छ’, उपप्रमुख थापाले भनिन् । इन्जिनियर मनोज कुमार सिंहले स्थानीय तह अधिकार सम्पन्न रहेकाले भवन कोडलाई कडाईका साथ लागु गर्नुपर्ने बताए ।
इन्जिनियर दिनेश जोशीले २०७२ सालमा गोर्खालाई केन्द्र बिन्दु बनाएर आएको जस्तै भुकम्प पश्चिम नेपालमा आए हुनसक्ने सम्भावित क्षतिबारे तथ्यांक प्रस्तुत गरेका थिए । उनले पश्चिम नेपालमा भुकम्पीय शक्ति सञ्चित रहेको उल्लेख गर्दै जोखिम रहेकाले सचेत हुनुपर्ने धारणा राखे । जोशीले रुकुम पश्चिम केन्द्र भई भुकम्प आएमा ४ हजार बढीको मृत्यु हुने, झण्डै १० हजार घाइते हुने र २१ हजार घर ध्वस्त हुने अध्ययनबाट अनुमान गरिएको सुनाएका थिए । ‘भुकम्प आएमा पश्चिम नेपालमा बाढी, पहिरोले पनि ठूलो क्षति पुर्याउने छ’, उनले भने, ‘विपत्तिका लागि ठूलो राहत कार्यका लागि हामी तयार छैनौं ।’ इन्जिनियर जोशीले विपद् आइहालेमा बृहत उद्दार र राहत कार्य गर्न सक्ने अवस्थामा सरकार हुनुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले उपमहानगरमा रहेको भवन मापदण्ड, नक्सा पास प्रक्रिया, भवन निर्माण सम्पन्नताको प्रक्रिया र चुनौतिहरुको बारेमा बताएका थिए । उनले नक्सामा नभएको बाटो फिल्टमा भेटिने, नक्सामा भए अनुसार फिल्डमा बाटो नहुने, स्थानीय तह अनुसार मापदण्ड फरक हुँदा समस्या हुने गरेको बताए । भवन संहिता कडाईका साथ लागु गर्न अनुगमनमा जनशक्तिको समस्या हुने गरेको अनुभव इन्जिनियर शर्माले सुनाएका थिए । ‘नगरमा बार्षिक ८/१० हजार घर बन्छन्’, उनले भने, ‘सबैको नजिकबाट अनुगमन गर्न जनशक्तिको समस्या हुन्छ ।’
गोर्खा इको प्यानलका इन्जिनियर कृष्ण भक्तले भुकम्पबाट हुने क्षतिबाट जोगिन नयाँ प्रविधिहरुको प्रयोग गर्नुपर्ने धारणा राखे । उनले इको प्यानलको प्रयोगबाट सुरक्षित भवन बनाउन सकिने बताएका थिए । एशोसिएसन नेपालगन्जका पूर्व अध्यक्ष तथा सल्लाहकार किरण बहादुर शाहले इन्जिनियरहरुलाई आफ्नो दायित्व बुझेर मर्यादित रुपमा काम गर्न सुझाव दिए ।
कार्यक्रममा भवन डिभिजन नेपालगन्जका इन्जिनियर राम चन्द्र बिसीले भवन आचार संहिताबारे जानकारी दिंदै त्यसको पालनामा जोड दिए । डा. प्रचण्ड मान प्रधानले अनुसन्धान प्रस्तुत गर्दै भुकम्पले भौतिक संरचनामा कस्तो र कति क्षति पुर्याउँछ भन्ने जानकारी दिएका थिए ।
प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज इन्जिनियर एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर पारस खड्का, प्रदेश ५ का उपाध्यक्ष इन्जिनियर दिपेश कुमार शर्मा, सदस्य लाल बहादुर बुढा, प्रदेश ६ का सहसचिव इन्जिनियर रविन महत, सदस्य इन्जिनियर मेघराज खत्री, बाँकेका स्थानीय तह तथा कन्सल्टेन्टका रुपमा कार्यरत इन्जिनियरहरुको सहभागिता रहेको थियो ।