समाचारदाता
दैनिक नेपालगन्ज
बाँके जिल्ला अदालतमा हालसम्म २४२६ थान मुद्दा विचाराधिन रहेका छन् । बुधबार अदालतले गरेको पत्रकार भेटघाट क्रममा दुनियावादी देवानी १४१३, सरकारवादी देवानी १, दुनियावादी फौजदारी ६२६, सरकारवादी फौजदारी ३६८ र पुनरावेकदिय क्षेत्राधिकार अन्तरगत दर्ता भएका १६, निषेधाज्ञा २ रहेको सुचना अधिकारी धनसिंह गिरिले जानकारी दिए । बिचाराधिन मुद्दा मध्ये सबभन्दा बढी सम्बन्ध बिच्छेदको मुद्दा रहेको छ भने त्यसपछि लेनदेन, लागु औषध, जवरजस्ती करणी चोरी, अंश लगायतका मुद्दा रहेका छन् ।
भारी मात्रामा कैद, जरिवाना उठ्न बाँकी
बाँके जिल्ला अदालतले भारी मात्रामा कैद र जरिवाना उठाउन बाँकी रहेको छ । पत्रकार भेटघाटका क्रममा अदालतले दिएको जानकारी अनुसार बैशाख मसान्तसम्ममा २७३५ बर्ष १० महिना र ११ दिन कैद उठ्न बाँकी रहेको छ ।
यस्तै ३ करोड ५६ लाख ८० हजार ३३१ पैसा उठ्न बाकी रहेको छ । प्रतिवादी फेला नपर्ने, भारतसंगको खुल्ला सिमाना र तिर्न बुझाउन र कैदमा बस्नु पर्ने ब्यक्ति बिदेश पलायन भएका कारण कैद जरिवाना उठाउनमा समस्या रहेको अदालतका तहसिलदार नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
फैसला कार्यान्वयन तर्फ ७३१ मध्ये ४४६ फस्यौट भएको छ भने २८५ थान मुद्धा फस्यौट हुन बाँकी रहेको छ । जसमध्ये बिगो भराउने १४५, बण्डा छुट्टाउने ७३, चलन चलाउने ५१, अन्य १६ रहेका छन् ।
श्रावण मसान्त भित्र कैद, जरिवाना, बुझाए भारी छुट
बाँके जिल्ला अदालतले तिर्न बुझाउन बाँके रहेको कैद, जरिवाना, सरकारी बिगो श्रावण मसान्तसम्म बुझाउन आएमा छुट हुने जनाएको छ । फैसला कार्यान्वयन निर्देशनालय बबरमहल काठमाण्डौको चन २७८ मिति २०७५÷२÷२ को पत्राअनुसार सर्वोच्च अदालत नियमावली २०७४ को नियम १३५ को खण्ड (क), (ख) र (ग) बमोजिम कायम भएको कैद जरिवाना र सरकारी बिगो सुचना प्रकाशित भएको मितिले २०७५ श्रावण मसान्तसम्म छुट पाईने अदालतका तहसिलदार शाखा अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिए ।