बाँकेमा बढ्दो अपराध

विनय दीक्षित

घटना नं.१
१२ अक्टोबर २००९ नक्कली नोट किंग भनिएका अब्दुल मजीद मनिहार मारिएको दिन, अर्थात भारतीय नक्कली नोटको कारोबारको मुख्य नाइकेका रुपमा भारतीय गुप्तचर एजेन्सीमा वान्टेड मानिएका मजीद मारिएपछि घटना बारे यत्रतत्र चर्चा भयो, उनलाई भारतीय अधिकारीहरुले मारेका हुन् । नेपाल प्रहरीले अनुसन्धान गरिने सो पछि पूर्ण रिपोर्ट सार्वजनिक गर्ने बाचा गरेको ८ वर्ष पूरा भयो ।

 
घटना नं.२
२३ फागुन २०६२ मा नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी बाहेक सबैको हत्या भयो । मारिनेमा गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार थिए। ती सबैलाई सुतिरहेका बेला धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । घटनामा पसलमै काम गर्ने १५ वर्षीय राम सनिच्चर चौधरी पनि मारिए । घटनाका विषयमा पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल तयार भयो तर अभियुक्त पत्ता लागेन ।

 
घटना नं.३
नेपालगन्ज स्थित त्रिवेणी मोडमा तीन वर्ष अघि दायाँ हात काटिएको र औंठाबाट ल्याप्चे लगाएको स्थिति देखिने एउटा शव बरामद भयो । प्रहरीले घटना अनुसन्धानमा विभिन्न कोणबाट तीन सय प्रहरी परिचालन गर्यो । अनुसन्धानका नाममा स्थानीय केहि ब्यक्तिहरुलाई तत्कालका लागि पक्राउ गरिएपनि अनुसन्धान अधुरो रह्यो, मृतकको नाम, ठेगाना र कुनै पहिचान समेत खुल्न सकेन ।

 
घटना नं.४
२ वर्ष अघि बाँकको नरैनापुर स्थित खोलामा घाँटी रेटिएको शव बरामद भयो । त्यस लगत्तै सोनपुरमा पनि ईंटा भट्टामा काम गर्ने आशंका गरिएका एक जना मृत अवस्थामा फेला परे । प्रहरीले अभियुक्त पत्ता लगाउने कुरा मात्रै हैन, मृतकको पहिचान पनि खुलाउन सकेन ।

 
घटना नं.५
४ वर्ष अघि बाँके कटकुईंया स्थित नेपाल भारत सिमानाबाट प्रहरीले शव बरामद गर्यो । त्यस लगत्तै बाँकेको जमुनाहा प्रहरी चौकी नजिकबाट खाल्डोमा डुबेको अवस्थामा एउटा शव बरामद भयो । प्रहरीले अनुसन्धानको सुरुवात गर्यो । तर मृतकको पहिचान र घटनामा संलग्न अभियुक्तको विषयमा प्रहरीको हात अझै खाली छ ।

 
यी उल्लेखित घटनाहरु प्रतिनिधिमूलक मात्रै हुन् । यस किसिमका हिंसा र अपराधबाट बाँके प्रहरीको अभिलेख भरिएको छ । अनुसन्धानको नाममा समय विताउने र विस्तारै फाइल बन्द गर्ने खालको प्रवृत्तिले गम्भीर अपराधका घटनामा पनि तथ्यहरु बाहिर आउन सकेनन् ।
यस संगै आत्महत्या, डुबेर मृत्यु, दुर्घटना लगायतका विषयमा थालिने अनुसन्धान रिपोर्ट बाहिर आउँदैन । घटना कुन कारण र किसिमले भएको हो त्यस विषयमा प्रहरीले अनुन्धान रिपोर्ट सार्वजनिक गर्ने चलन नै बसालेको पाइएन
बाँकेमा ।

 
समय लम्बिँदै जानु अनुसन्धान असफलताको मुख्य कारण रहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले बताएका छन् । ‘जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब १७ वर्ष पुरानो स्थितिको मुद्दाहरु अझै अनुसन्धानको क्रममा छन्’, प्रवक्ता पौडेलले भने, ‘घटनाका पीडक, पीडित र घटनास्थल हराएपनि अनुसन्धानको प्रक्रियाहरु चलिरहेको हुन्छ ।’
‘मजिद मनिहारको अवस्था अन्तर्राष्ट्रिय विषय भएकोले त्यसमा कति कुराहरु प्रहरीले खुलाउन सक्दैन’, डीएसपी पौडेलले भने, ‘अन्तर्राष्ट्रिय आतंकवादको विषय भएकोले त्यसमा इन्टरपोल र केन्द्रिय अनुसन्धान एजेन्सीहरुले बोल्ने कुरा हो ।’

 
पछिल्लो १७ वर्ष दखि सर्दै आएका र केहि नयाँ गरि बाँके प्रहरीको हातमा अहिले १३ वटा मुद्दा अनुसन्धानको क्रममा छ । ‘अधिकाँश हत्याकै विषय संग जोडिएका छन्’, प्रहरीले भन्यो, ‘अनुसन्धान जारी रहेका कारण त्यस विषय खासै खुलाउन मिल्दैन ।’

 
घटना घटेको लामो समय सम्म अभियुक्त पत्ता नलागेपछि विस्तारै पीडित पनि हराउँछ दैनिक नेपालगन्ज संग प्रवक्ता पौडेलले भने, ‘यद्यपि प्रहरीको काम अभियुक्तलाई खोज्नु हो, हामी त्यस विषयमा काम गरिरहेका छौं ।’
‘अनुसन्धान असफताको मुख्य कुरो हो प्रमाण’, प्रवक्ता पौडेलले भने, ‘प्रमाण हात नलागे सम्म अनुसन्धान पूर्ण हुन सक्दैन । ‘कतिपय अवस्थामा प्रमाण फेला पर्दैन र कतिपय अवस्थामा मेटिएको नष्ट भएको अवस्था हुन्छ । त्यस्तो घटनामा अनुसन्धान निकै कठिन हुन जान्छ’, उनले भने ।

 
पुराना मुद्दा सीआईबीलाई
बाँकेमा अनुसन्धानको क्रममा रहेका तर तथ्यहरु पत्ता नलागे मुद्दाहरुमा बाँके प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग लिने भएको छ ।
निरन्तर हुने घटना दुर्घटनामा नै हाम्रो टोली प्रायः ब्यस्त हुने भएकोले पुराना मुद्दा अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिने तयारी भएको छ, बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले बताए । ‘थन्किएका मुद्दाहरुका लागि सीआईबीको एउटा टोलीले अध्ययन थालेको छ’, उनले भने, ‘मुद्दा थन्किनु नराम्रो पक्ष हो ।’
अनुसन्धानका क्रममा रहेका तर खासै तथ्यहरु बाहिर नआएका १३ वटा अनुसन्धानका लागि सीआईबीले जिम्मा लिने भएको हो ।

 
तथ्यांकको अवस्था
जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेख अनुसार अपराध र मुद्दाको सिलसिला बढ्दो रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७२।०७३ मा कर्तब्य ज्यान ११, ज्यान मार्ने उद्योग १७, भवितब्य ज्यान ५५, फुटकर ज्यान २६, विष सेवन गरी आत्म हत्या ४३, झुण्डी आत्म हत्या ७६, जबर्जस्तीकरणी २६, जबर्जस्तीकरणी उद्योग २३, मानव बेचविखन १२, हातहतियार खरखजाना १२, लागुऔषध ७८, केहि सार्वजनिक अपराध १६८ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेखले देखाएको छ ।
आर्थिक वर्ष २०७३।०७४ मा कर्तब्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितब्य ज्यान ५५, फुटकर ज्यान २२, विष सेवन गरी आत्म हत्या ३१, झुण्डी आत्म हत्या ४४, जबर्जस्तीकरणी ३९, जबर्जस्तीकरणी उद्योग २७, मानव बेचविखन १८, हातहतियार खरखजाना ६, लागुऔषध १३७, केहि सार्वजनिक अपराध २५२ रहेको पाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया